दार्चुला – भारतले तटबन्ध निर्माण गरिरहेको दार्चुलाको महाकाली नदी क्षेत्रमा पुगेर अनेरास्ववियुले विरोध जनाएको छ । अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको अनेरास्ववियुको टोलीले दार्चुलाको महाकाली नगरपालिका–४ खलङ्गामा भारतीय पक्षले तटबन्ध निर्माण गरिरहेको क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । भारतले यो क्षेत्रमा २४ फागुनबाट तटबन्ध निर्माण शुरू गरेको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर तटबन्ध निर्माण गरिरहेको जनाउँदै यसको विरोध गर्न दार्चुला पुगेको अध्यक्ष बरालले बताइन् । ‘हामी भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि निरन्तर धावा बोलिरहने विस्तारवादी नीति बन्द गर्न चेतावनी दिन चाहन्छौँ,’ उनले भनिन्, ‘तत्काल सीमा अतिक्रमण र तटबन्ध निर्माण कार्य रोक्न र नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन माग गर्दछौँ ।’


भारतले भूमि अतिक्रमण गरेर तटबन्ध निर्माण गरिरहेको पाइएको जनाउँदै यो कार्य रोक्नका लागि पहल गर्न सरकारलाई आग्रह गरेकी छन् । ‘दार्चुलामा तटबन्ध निर्माण कार्य हुँदै गर्दा सरकार मूकदर्शक हुन मिल्दैन,’ उनले भनिन् ।
त्यस्तै, स्थानीय प्रशासनले पनि सीमा अतिक्रमण जस्तो विषयमा मानैनता साँधेको उनको आरोप छ । स्थानीय बासिन्दाले विरोध गरिरहँदा स्थानीय प्रशासनले वास्ता नगरेको उनले बताइन् ।
अध्यक्ष बरालले भूमि अतिक्रमणको विषयमा तत्काल समाधान खोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिन् । उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू, लिम्पियाधुरा, लिपुलेक र कालापानी कहिले फिर्ता ल्याउनु हुन्छ ? दार्चुलामा भारतले तटबन्ध निर्माण गर्दा मौन किन ?’

















