खाेज्नुहाेस

शुक्लाफाँटा आरक्ष पीडित आधारभूत सेवाबाटै वञ्चित

Image

धनगढी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन् । निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका ९२ परिवार शिविरमा झोपडी बनाइ बस्दै आएका छन् । सविकको पिपलाडी गाउँपालिका– १ र २ बाट अधिकांश परिवार विस्थापनमा परेका हुन् ।

स्थानीय तहको पुनः संरचनापछि पिपलाडी गाविस शुक्लाफाँटा नगरपालिकामा समाहित गरिएपछि निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाले स्थानीय तहबाट पाउने सेवा सुविधा पाउन छाडेका छन् ।

attariya hospital
navjiwan hospital

स्थानीय तहमा बसाइँसराइ, जन्मदर्ता, विवाह दर्तालगायतका प्रक्रियाबाट समेत वञ्चित गरिँदै आएका निकुञ्जमा शिविर बनाएर बस्दै आएका बासिन्दाको भनाइ रहेको छ । नयाँ नागरिकता बनाउनसमेत नपाइएको शिविरका बासिन्दाको गुनासो छ । ‘आफनै देशमा शरणार्थीको जस्तो जीवन विताउँदै आएका छौँ’, नरबहादुर विष्टले भन्नुभयो, ‘बिरामी परे अधिकांश परिवारसँग उपचार गर्ने पैसा हुदैन। रोग पालेर झोपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था छ ।’ युवा परिवारको खर्च धान्नका लागि भारत तर्फ लाग्ने भएकाले शिविरमा रहेका बुढापाका र महिला मात्रै रहने गरेका छन्। शिविरमा कोही बिरामी परे स्वास्थ्य चौकी पु-याउनसमेत सकिने अवस्था नरहेको उनले बताए ।

‘शिविर नजिकैको बस्तीमा गतवर्ष नगरपालिकाले झुल बाँड्यो’, नरिभान ढुङगालले भने, ‘शिविरका बासिन्दाले समेत झुलको माग ग¥यौं। अवैध बस्तीका बासिन्दाको आरोप लगाउँदै झुलनै दिइएन । गर्मीको मौसम सुरु हुनै लाग्दा लामखुट्टेका कारण झोपडीमा सुत्नै सकिदैन ।’ निकुञ्जकै केही जग्गामा यहाँ बसोबास गर्दै आएका बासिन्दाले खेतीसमेत गर्दै आएका छन् । बेमौसमी वर्षाका कारण निकुञ्जमा बासोबास गर्दै आएका बासिन्दालेसमेत धानखेतीमा क्षति व्यहोरेका छन् ।

‘शुक्लाफाँटा नगरपालिकाकाले नगर क्षेत्रभित्रका क्षति पुगेका किसानको क्षतिपूर्तिका लागि लगत लिने कार्य गरेपनि शिविरका बासिन्दाको छुट्टै लगत लिएर फायल थन्क्याउने कार्य गरेको छ’, लक्षमण साउदले भने । ‘स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता शिविरमा देखा पर्न थालेका छन् । पाँच वर्षअघि तत्काल पुनः स्थापना गर्छौ भनेर मत मागेर विजयी भएकाहरु फर्केनन् । यस पटक पनि पुनः स्थापना तत्काल हुन्छ भनेर भन्न थालेका छन’, साउदले भने, ‘कसरी पत्याउने ।’
रासस