कञ्चनपुर – ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिइरहेको कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय अब्बल सावित हुँदै गएको छ । विसं २०३३ मा स्थापना भएको कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा रहेको सो विद्यालयमा एक हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । तर कक्षा कोठाको अभावले विद्यालयले दुई चरणमा अध्यापन प्रबन्ध मिलाउँदै आएको छ ।
‘विद्यार्थीको चाप धेरै हुँदा दिनमा दुई सिफ्टमा कक्षा सञ्चालन गरिरहेका छौं ।’ विद्यालयका प्राधानाध्यापपक धीरेन्द्रचन्द्र भट्टले भने, ‘माविमा दरबन्दी न्यून हुँदा निजीस्रोतबाट शिक्षक राखेर अध्यापन अघि बढाउनु परेको छ ।’ उनले सो क्षेत्रमा निजी विद्यालय रहेपनि सामुदायिक विद्यालयको गुणस्तिरीय शिक्षामा अब्बल भएकै कारण विद्यार्थीको चाप रहेको बताए ।

‘सामुदायिक विद्यालयमा विद्यार्थी चाप खस्कदो अवस्थामा रहेका बेला हाम्रोमा भने नगरपालिका, समुदाय, यहाँका सबै क्षेत्रको सहयोगले विद्यार्थी दिनप्रदिन बढिरहेका छन् ।’ उनले भने, ‘गतविगतबाट बेदकोट नगरपालिकाबाट पनि शिक्षकको तलब÷भत्ताका लागि अनुदान रकम प्राप्त भइरहेको छ ।’ प्रअ भट्टका अनुसार विद्यालयमा बिहान ७ देखि १ बजेसम्म ९ देखि १२ कक्षासम्म पहिलो चरण र बिहान ११ बजेदेखि साढे ४ बजेसम्म १ देखि ८ कक्षासम्मको दोस्रो चरणमा अध्यापन हुन्छ ।

‘एउटै कक्षालाई तीन भागमा विभाजन गरेर अध्यापन गराउनुपर्ने अवस्था पनि छ ।’ उनले भने, विद्यालयको शैक्षिकस्तर राम्रो हुनुमा यहाँका शिक्षक,शिक्षिकाका साथै अभिभावक र सहयोगी संस्थाको पनि भूमिका छ ।’ सो विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत १२ कोठे भवन निमार्णका लागि गतवर्ष रु डेढकरोड रकम आएको थियो । भवनको जग निर्माण भए पनि कोभिड लगायतका कारणले निर्माण रोकिएको छ ।
मावि तहमा १२ शिक्षकको दरबन्दी आवश्यक रहेपनि स्थायी दरबन्दी ३ मात्रै रहेको विद्यालयले जनाएको छ । ‘माविमा निजीस्रोतबाट पाँच जना शिक्षक अध्यापन गराइरहेका छन् ।’ उनले भने, ‘प्राविमा ६ जना र प्रवीणताप्रमाणपत्र तहमा दुईजना दरबन्दी अनुसार कार्यरत छन् ।’ बेदकोट नगरपालिका–२ का वडाध्यक्ष एवं नगर प्रवक्ता नरेशबहादुर सिंहले नगरपालिकाले कार्यक्रम नै बनाएर सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरिरहेको बताए ।
‘हामीले नगरपालिकाबाट प्राविका निजीस्रोतका शिक्षकको तलब÷भत्ताका लागि प्रतिशिक्षक मासिक रु १६ हजार, निमावी तहकालाई १८ र माविलाई २० हजारका दरले रकम दिइरहेका छौं ।’ उनले भने, ‘कतिपय अवस्थामा विद्यार्थीको अनुपात हेरेर पनि सहयोग नगरपालिकाबाट वितरण भइरहेको छ ।’
रासस



















