काँकडभिट्टा – मेचीनगर १४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १० घन्टा समय लागेको थियो ।

मनषा थाइफुड्सद्वारा उत्पादित चाउचाउ उद्योगमा शनिबार बिहान करिब साढे ४ बजेदेखि विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।
मनषा थाइफुड्सले चिज बल्स र मगमग लगायत चाउचाउ उत्पादन गर्दैआएको थियो । आगलागीका कारण सिंगो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्ण रुपमा नष्ट भएको संचालक बुद्धि घिमिरेले दाबी गरेका छन्।

‘आगलागीबाट केही पनि बाँकी रहेन’, घिमिरेले भने, ‘करिब एक अर्ब बढी क्षति भयो भन्ने हाम्रो अनुमान हो ।’ आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको र करिब एक अर्ब क्षति हुनसक्ने प्रहरीको आकलन छ ।


















