काठमाण्डौ – भारतमा यस वर्ष हुने ईन्डियन प्रिमियर लिग (आईपिएल) को मेगा अक्सर आजदेखी सुरु हुदैछ ।
बेंगलुरमा दुई दिन चल्ने अक्सनमा कुल ६०० खेलाडी समावेश छन् । जसमा सुरुको १८ सेटको कुल १६१ खेलाडीलाई क्रमैसँग अक्सनमा प्रस्तुत गरिनेछ । त्यसपछि भने फ्रेन्चाईजले नोमिनेट गरेको आधारमा खेलाडीहरूको अक्सन हुनेछ ।

उक्त मेगा अक्सनमा नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामीछाने पनि सहभागी छन । नेपालबाट एक्लो खेलाडीका रुपमा सन्दिप मात्र अक्सन रहेकाले नेपालीको ध्यान आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सनमा हुनेछ ।

नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि अक्सनका लागि भने सन्दीप मात्र छनोटमा परेका हुन् ।
त्यसैले यसपटक सन्दीपलाई कुन टिमले अनुबन्ध गर्ला ? सन्दीप फेरि आईपीएलमा छनोट होलान् वा नहोलान् भन्ने चासोको विषय बनेको छ ।
सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यु गरेका सन्दीपले दुई सिजन खेले । तर २०२० को सिजन भने उनी पूरा सिजन बेन्चमा रहे । त्यसपछि दिल्लीले उनलाई रिलिज ग¥यो । गत सिजनको मिनी अक्सनमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेन ।
यसपटक दुई नयाँ टिम थपिनु अनि मेगा अक्सन हुनुले पनि सन्दीपलाई कुनै न कुनै टिमले अनुबन्ध गर्ने सम्भावना बढी छ ।
आईपीएल त्यस्तो प्रतियोगिता हो जुन राष्ट्रिय टिम पनि हरेक खेलाडीको दोस्रो रोजाइमा पर्छ । विश्वको सबैभन्दा चर्चित र ठूलो फ्रेन्चाइज लिग र पैसा र ग्लामर पनि उत्तिकै हुने यस लिगमा खेल्न विश्वभरका खेलाडीको चाहना हुन्छ ।
नेपालबाट पनि सन्दीपले त्यो अवसर पाइसकेका छन् । आईपीएलमा छानिनका लागि धेरै प्रतिस्पर्धा पनि हुन्छ । त्यसैले अन्य फ्रेन्चाइज लिगमा करोडमा अनुबन्ध भए पनि सन्दीपले यसपटक आईपीएल अक्सनमा आफ्नो बेस प्राइज ४० लाख भारु (६४ लाख नेरु) मात्र राखेका छन् ।



















