खाेज्नुहाेस

कैलालीका ४७० जनालाई न्यानो कपडा वितरण

Image

टीकापुर – कैलालीको जानकी गाउँपालिका– ८ ले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका ४७० त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरेको हो ।

वडा कार्यालयले ३१३ ज्येष्ठ नागरिक, १२६ एकल महिला र ३१ अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेको थियो । ‘चिसो छेक्न केही सहयोग होस् भनी हामीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिला बढी समस्यामा हुन्छन् भनी उनीहरुलाई न्यानो लुगा दिएका हौँ’, वडाध्यक्ष डम्बरबहादुर थारुले भने, ‘‘कतिपय परिवार विपन्न छन्। उनीहरुलाई यो कपडाले धेरै राहत दिन्छ ।’

attariya hospital

‘माघ महिना सकिनै लाग्दा पनि यसवर्ष कैलालीमा चिसो घटेको छैन। निरन्तर वर्षा र शीतलहरका कारण नागरिक समस्यामा छन् । कैलालीमा माघ महिनाभरि राम्ररी घामसमेत लागेको छैन ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसो छल्न बढी समस्या भएको छ ।’ स्थानीयवासी सुधा चौधरीले भने, ‘यस्तो कठिन अवस्थामा स्थानीय सरकारले सक्दो सहयोग गर्नु राम्रो हो ।’ वडा कार्यालयबाट न्यानो कपडा पाएपछि भगरैयाकी मन्टुर्नी चौधरी खुसी भएकी छन् ।

‘यसवर्ष निकै चिसो भयो, यस्तो चिसोमा वडा कार्यालय र गाउँपालिकाले पनि न्यायो लुगा वितरण गरे’, उनले भनिन्, ‘यसले थोरै भए पनि राहत मिलेको छ।’ रुन्चे थारुले लुगासमेत किन्न नसक्ने नागरिकलाई पालिकाको सहयोगले सजिलो भएको बताए ।

navjiwan hospital

स्थानीयवासी निर्मला थापाले स्थानीय सरकारले गरेका सहयोगले लुगा नभएका र किन्न नसक्लेलाई बढी लाभ भएको बताइन् । ‘कति मानिसले ओढ्ने सलसमेत किन्न सकेका छैनन्, लुगा नभकाले पराल ओछ्याएर सुत्ने गरेका छन’, उनले भने, ‘यो सहयोगले ठूलो राहत भएको छ ।’

चिसो बढेपछि कैलालीको जानकी, जोशीपुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकाका विभिन्न वडामा पनि  न्यानो लुगा वितरण गरिएका छन् । पालिकाले यसका साथै विभिन्न चोकचोकमा दाउरा वितरणका लागि सामुदायिक वनसँग सहकार्यलगायत कार्यसमेत गरेको छ । जोशीपुर गाउँपालिका– १ का वडाध्यक्ष विधिराम चौधरीले गाउँपालिकाले वडास्तरमा विपन्न तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, कपडा वितरण गर्ने कार्य गरेको बताए ।

‘हामीले वर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छौँ, ज्येष्ठ नागरिक त्यसमा पनि विपन्नलाई सहयोग हुन्छ भनी यी कार्यक्रम निरन्तर भइरहेका छन’, उनले भने, ‘यस्ता कार्यक्रम पालिकास्तरमै हुने गरेका छन् ।’

टीकापुर नगरपालिकाले पनि वडास्तरमा न्यानो लुगा, टर्च, छाताजस्ता सामान ज्येष्ठ नागरिकलाई वितरण गरेको छ । नगरपालिकाले सामुदायिक वनसँगको सहकार्यमा विपन्न समुदायमा दाउरा वितरण, विपन्नलाई न्यानो कपडा वितरण गर्ने कार्य गरेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

रासस