खाेज्नुहाेस

संक्रमण घटेपछि गड्डाचौकी नाकामा आवागमन खुकुलो

Image

कञ्चनपुर – कोरोना संक्रमण कम भएसँगै नेपाल–भारत सीमानाका गड्डाचौकीमा आवागमन पनि खुकुलो पारिएको छ । स्थानीय प्रशासनले घरायसी किनमेलका लागि सीमावर्ती बजारसम्म आवागमनमा खुकुलो पारेको हो ।

केही दिनयता गड्डाचौकी नाकामा किनमेलका लागि सीमावर्ती बजारतर्फ जानेको भीड बढेको छ । सीमावर्ती बजारबाट साइकलमा क्यारिङ पनि सुचारु भएको छ । संक्रमण कम भएपछि भन्सार कार्यालयसंँग समन्वय गरेर साइकलमा मालासामान ढुवानी गर्न सकिने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।

attariya hospital

‘संक्रमण तीव्र गतिमा बढिरहेका बेलामा मालसामान चेकजाँचमै समस्या देखिएपछि क्यारिङलाई केही दिन रोकिएको हो,’ प्रजिअ पाण्डेयले भने, ‘अब संक्रमण कम भएको छ, नाकामा भारतबाट आउनेमा पनि संक्रमण कम देखिन थालेको छ ।’ उनका अनुसार अहिले गड्डाचौकी नाका भएर घर फर्किनेहरूमा दैनिक १०/१२ जनामा मात्रै संक्रमण देखिने गरेको छ । माघ दोस्रो सातासम्म दैनिक सय जना बढी संक्रमित आउने गरेका थिए ।

navjiwan hospital

प्रशासनले साइकलमा हुने क्यारिङ बन्द गरेपछि स्थानीय आन्दोलित बनेका थिए । खासगरी सीमावर्ती बजारबाट क्यारिङ गर्ने महिलाहरूले रोजीरोटी चलाउनै नसकिने भन्दै क्यारिङ खुला गर्न माग गरेका थिए । उनीहरूले भन्सार कार्यालयमा र ब्यारियरमा प्रदर्शन गरेका थिए ।

‘हाम्रो त रोजीरोटी यही हो, यसैबाट घरको गुजारा चलेको छ,’ बेदकोट नगरपालिका ५ की अनु भण्डारीले भनिन्, ‘दुई दिन बन्द हुँदा निकै समस्या भयो, खुला भएपछि सहज भएको छ ।’ उनका अनुसार अहिले क्यारिङ गर्ने महिलाहरू सीमावर्ती बजार बनबासाबाट मालसामान ल्याएर महेन्द्रनगर तथा आसपासका बजारमा पुर्‍याउन थालेका छन् ।

साइकलमा क्यारिङ गर्ने महिलाहरूको संख्या मात्रै ३ सय बढी छन् । उनीहरू दिनमा ५/७ सयदेखि हजार/बाह्र सयसम्म आम्दानी गर्छन् । यसैबाट घर खर्च र परिवारको गुजारा चलाउने गरेका छन् । ‘अहिले नेपालतर्फ कुनै रोकटोक छैन,’ साइकलमै मालसमान बोक्ने अर्की महिला सुनिता नेपालीले भनिन्, ‘तर भारततर्फ भने चेकजाँचका नाममा निकै दुःख दिने गरेका छन् ।’

सीमावर्ती बजार बनबासाबाट दाल, चिनी, पिठो, चामल र मसलालगायत दैनिक उपभोग्य सामग्री साइकलमा ढुवानी गरिन्छ । शारदा ब्यारेजको बनबासा पुल दिनमा ४ पटक निश्चित समयका लागि मात्रै खुला हुने भएकाले ठूला सवारीसाधनमा मालसामान ढुवानी हुन सक्दैन । यस कारण महिलाहरू साइकलमै क्यारिङ गर्छन् ।

अहिले किनमेलका लागि स्थानीयहरू पनि सीमावर्ती बजार जान थालेका छन् । प्रशासनले केही खुकुलो पारेसँगै उनीहरू दैनिक उपभोग्य सामग्री खरिदका लागि जाने गरेका हुन् । स्थानीयले चिनी, चियापत्ती, दाल, तेल मसलालगायतका दैनिक उपभोग्य सामग्रीहरू खरिद गरेर ल्याउने गरेका छन् ।