बैतडी – जिल्ला अस्पताल बैतडीमा रहेको भेन्टिलेटर प्रयोगविहिन अवस्थामा थन्क्याईएको छ । कोरोना महामारी बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटर सहितको आईसियु जनशक्ति अभाव हुँदा थन्किएको हो ।
कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए ।


‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन बिशेषज्ञ चिकित्सको अभाव छ ।’
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मंसिरमा अस्पतालमा भेन्टिलेटरसहितको दुई शैय्याको आइसियु कक्ष स्थापना भएको थियो । आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्त बताउँछन । ‘जनशक्ति अभावमा अहिले सञ्चालन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘जडानपछि त्यस्तै थन्किएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियु शैय्या जडान गरिएको थियो ।

















