अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ लालपुरमा आयोजित ‘नाईन ए साइड पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७८ को उपाधी फारवेष्ट अत्तरिया फुटबल एकेडेमीले हात पारेको छ ।
शुक्रबार भएको फाईनल खेलमा माउन्ट एभरेष्ट युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फारवेष्ट अत्तरियाले उपाधी जितेको हो । निकै रोमाञ्चक फाईनल खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसक्दा विजेताको टुङ्गो पेनाल्टी सुटआउट मार्फत लगाईएको थियो ।


पेनाल्टी सुट आउटमा फारवेष्ट अत्तरिया ५–४ गोलअन्तरले विजयी बनेको हो । विजयी बनेसँगै फारवेष्ट अत्तरियाले नगद रु. १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको माउन्ट एभरेष्टले नगद रु. ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगीता अवधीभर उत्कृष्ट प्रर्दशन गरेका फारवेष्ट अत्तरियाका खेलाडी नरेन्द्र रावत सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु. ५ हजार प्राप्त गरे ।
यसैगरी प्रतियोगीताको उत्कृष्ट गोलरक्षक फारवेष्ट अत्तरियाकै नविन छत्याल, सर्वाधिक गोलकर्ता माउन्ट एभरेष्टका कमल देउवा, उत्कृष्ट डिफेन्डर फारवेष्टका अर्जुन विष्ट, उत्कृष्ट मिडफिल्डर माउन्ट एभरेष्टका सुवास बम ठकुरी र उदयीमान खेलाडी माईलस्टोन युवा क्लबका भोज बोहरा घोषित भए । उनिहरु सबैले समान नगद रु. ३/३ हजार प्राप्त गरे ।
यही पौष २७ गतेदेखी माईलस्टोन युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा गोदावरी नगरपालिका रहेको थियो ।




















