धनगढी – सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो ।
कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ । २८ पुसमा आठ जना संक्रमित भर्ना भएकोमा शुक्रबार उक्त संख्या दोब्बरले वृद्धि भएर १६ पुगेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र छ जना संक्रमित भर्ना भएका छन् ।


अस्पताल भर्ना भएका १६ जनामध्ये पाँच जनाको अवस्था जटिल छ । चार जनालाई आईसीयू र एक जनालाई भेन्टिलेटरमा राखिएको छ । खास गरी प्रदेशमा संक्रमण दर वृद्धि भएपछि अस्पताल भर्ना हुने क्रमपनि बढेको देखिन्छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय २१ जनाको पीसीआर परीक्षण गर्दा आधाभन्दा बढी ६६ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार भारतमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै पछिल्लो १० दिनयता यहाँ पनि संक्रमणदर बढेको छ । २० पुसमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३५ जनाको परीक्षण गर्दा दुई जनामा संक्रमण पुुष्टि भएकोमा २५ पुसमा भने ८७ जनाको परीक्षणमा १२ जनामा संक्रमण देखिएको थियो । बुधबार मात्र एक सय पाँचजनाको परीक्षण गर्दा ४५ जनामा सक्रमण पुष्टि भएको थियो ।

















