अत्तरिया – ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अत्तरियामा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अत्तरिया चोकमा राखेको पृथ्वीनारायण शाहको फोटोमा स्थानीय तथा पार्टी सम्बद्ध व्यक्तिहरुले माल्यार्पण गरेका हुन ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै माल्यापर्णमा सहभागिहरुले पृथ्वीनारायण शाहको योगदान मेटाउन नसकिने बताएका थिए । कार्यक्रममा स्वफुर्त रुपमा बोल्ने बक्ताहरुले पृथ्वीनारायण शाह नै नेपाल निर्माता भएको बताएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रेम बहादुर बोगटीले नेपाल चिनाउनका लागि पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेको बताए । उनले अहिले पृथ्वीनारायण शाहको योगदानको अबमुल्यन गर्ने काम हुनु दुःखद भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गोदावरी नगर समिति अध्यक्ष दुर्गा कुमार पोखरेलले नेपाली हुनमा गर्भ गर्ने सबै नागरिकको साँझा धरोहरका रुपमा राष्ट्रपिता पृथ्वीनारायण शाह भएको बताए । उनले पृथ्वी जयन्तीका लागि आयोजना गरेको कार्यक्रम राप्रपाको मात्रै नभएर सबैको साझा कार्यक्रम भएको बताए ।

स्थानीय राम बिष्टले पृथ्वीनारायण शाहको योगदानलाई कहिले पनि मेटाउन नसकिने बताए । उनले नेपाल देश बनाउने व्यक्ती नै पृथ्वीनारायण शाह भएको बताए ।
१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपालको भौगोलिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

















