धनगढी – आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू भएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको हो ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको जनाएको छ ।


आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका छन ।
जसमा नेकपा एमालेले खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट, महिला तर्फ सन्तोष कुमारी थापा शर्मा र दलिततर्फ बैतडीका नरेश बिक मनोनय दर्ता गरेका छन भने गठबन्धनका तर्फबाट खुलामा नेपाली कांग्रेसका नारायण दत्त मिश्र, महिला कोटामा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम ईन्चार्ज गरिमा शाह र दलित कोटामा माओवादी केन्द्रका डडेल्धुराका जगत पार्की मनोनय दर्ता गरेका छन ।
राष्ट्रियसभाका २० सासंद चार वर्षे कार्यकाल पूरा गरेर अगामी फागुन २० गते बिदाई हुँदै छन् । १ जना राष्ट्रपतिले मनोनयन गर्ने छन् भने १९ पदका लागि ७ वटै प्रदेशमा निर्वाचन हुने छ ।

















