धनगढी – कैलारी अनलाइनका सम्पादक राम दहितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीको अधिवेशन सम्पन्न भएको छ ।
शनिबार धनगढीमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलालीको चौथौं अधिवेशनले दहितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनले उपाध्यक्षमा गीता चौधरी, सचिवमा सागर कुश्मी, सह–सचिवमा अनिता चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरीलाई चयन गरेको छ ।
सदस्यमा स्वरुप चौधरी, बनवारी राना, मनिषा थारु, कञ्चन चौधरी, प्रविन चौधरी, दिनेश राना, रामप्रसाद चौधरी र खडक चौधरीलाई चयन गरेको छ ।

फोनिज कैलालीका अध्यक्ष रामलखन चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका थिए ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सल्लाहकार गणेश चौधरी, सुदूरपश्चिम प्रदेश अध्यक्ष भिमबहादुर चौधरी, नेपाल आदिवासी जनजाति महासंघका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्तीमगर, थारु कल्याणकारी सभाका उप–सभापति माधव चौधरी, नेकपा माओवादीका कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, समाजवादी प्रेस सेन्टर कैलालीका अध्यक्ष लक्ष्मीप्रसाद जोशी, प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्ट, फोनिजका पूर्व अध्यक्ष अनत चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबिच फोनिज कैलालीले धनगढीबाट प्रकाशित थारु भाषाको दैनिक पहुरा थारु दैनिकलाई एक दर्जन प्लाष्टिकको कुर्सी समेत हस्तान्तरण गरेको छ ।
अधिवेशनले एक लाख रुपैयाँको फोनिज कैलाली अक्षयकोष व्यवस्थापन कार्य विधि २०७८ समेत पारित गरेको छ । अक्षय कोषबाट प्राप्त भएको व्याजबाट फोनिज कैलालीमा आवद्ध पत्रकारलाई विरामी भएको खण्डमा अस्पतालको रिपोर्टको आधारमा औषधोपचारमा राहत र प्राकृतिक विपत्तिमा परेमा सदस्यको उत्थानमा खर्च गरिने छ ।
फोनिज कैलालीमा ६० जना आदिवासी जनजाति पत्रकारहरु आवद्ध रहेका छन् । बिस २०५८ सालमा फोनिज कैलाली शाखा गठन भएको थियो ।

















