खाेज्नुहाेस

पूर्व सूचना प्रणालीको अबलम्बन नगरिदा बढी जोखिम

Image

भजनी – गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

टीकापुर नगरपालिका– ८ वनगाँउका आशाराम कुश्मीको मोबाइलमा पनि सूचना आएको थियो । उनले त्यो सूचना हेरे तर, त्यसको प्रवाह भने गरेनन् । पूर्व सूचना प्रणालीका माध्यमबाट सूचना पाएका कुस्मीले त्यो कुरा अरुलाई पनि भनेनन् । अन्ततः बाढी आयो कुश्मीलगायत वनगाउँका बासिन्दालाई घरको अन्नपात, पशु चौपाया, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निकै समस्या भएको कुश्मी बताउछन् ।

attariya hospital

‘सूचना प्रणालीको पहुँचमा अझै पनि सबै नागरिक नभएका कारण पूर्व सूचना प्रणाली प्रभावकारी हुन त सकेको छैन, थाहा भएका नागरिकले अन्य नागरिकलाई सुसूचित गर्नुपर्ने रहिछ भन्ने ज्ञान भएको छ’ उनले भने, ‘कहिलेकाहीँ मोबाइलमा नेटवर्कको समस्या छ, कामकै व्यस्तताले सूचना प्रणालीमार्फत पाएको सूचनालाई अबलम्बन गर्न सकिएको छैन ।’

सोही ठाउँका स्थानीयवासी धर्माबहादुर थारुले बाढीको पूर्व सूचना प्रणालीलाई समयमै अवलम्बन गर्न नसकेकै कारण बढी जोखिम हुने गरेको जनाउँदै त्यसबाट बालबालिका, खाद्य बस्तु तथा पशु चौपायाको व्यवस्थापनमा चुनौती हुने गरेको बताए ।

navjiwan hospital

‘सूचना नपाएकै भन्न मिल्दैन, हामीले बाढी नआएसम्म त्यसको प्रवाह नगरेका मात्रै हौ’ उनले भने, ‘समुदायमा जनसंख्याको अवस्थालाई हेरेर सूचना प्रणालीको प्रयोग गर्न आवश्यक छ, सूचना पाएकाले सतर्कताको मानसिकता बनाइसकेका हुन्छन्, सूचना नपाएका बढी प्रभावित हुने गरेका छन ।’

टीकापुर–४ की रामदुलारी चौधरीले बर्सेनि बाढीबाट समस्यामा पर्दै आएको बताउँदै घरभित्र र बाहिरको सामान व्यवस्थापन गर्दै समय जाने गरेको बताईन । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि कर्णाली नदी बाढीको मुख्य समस्या भएको जनाउँदै विपद्को जानकारी गराउँदा पनि आफ्नो आँगनमा पानी नपुग्दासम्म स्थानीयवासीले पूर्व तयारीमा जुट्न नसक्नु नै अर्को समस्या भएको बताए ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पूर्व सूचना प्रणालीका आधारमा प्राप्त भएको सूचनालाई मध्यनजर गर्दै स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरिँदै आएको जनाउँदै त्यसको कार्यान्वयनमा बेवास्ता गर्दा बढी क्षति हुने गरेको बताए ।

भजनी नगरपालिका विपद् फोकलपर्सन खेमराज पनाडीले सूचना प्राप्त भए पनि नागरिकको बेवास्ताका कारण पूर्व सूचना प्रणाली नै प्रभावकारी नभएको उल्लेख गर्दै समस्या आइपरेपछि मात्रै नागरिकमा चेतना आउने गरेको सुनाए । जोशीपुर गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी महतोले विपद्का घटना दिउँसोभन्दा रातिको समयमा बढी हुने गरेका जनाउँदै बालबालिका र ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए ।

टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले टीकापुरमा बाढीको इतिहास पुरानो रहेको र विपद्का घटना नसोचेकै समयमा पनि हुने गरेका कारण पूर्व सूचना प्रणालीलाई आत्मसात गर्न आवश्यक रहेको बताए । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले सूचना प्रणालीलाई प्रभावकारी बनाउन गाउँका बडघरलाई सूचित गराउन आवश्यक रहेको जनाउँदै प्रधानमन्त्री स्वरोजगारमा आवद्ध भएका युवालाई विपद्सँग जोड्न आवश्यक रहेको बताए ।

रासस