अत्तरिया – विगत ५/६ वर्षदेखि घरबाहिर जान नसकेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ का राम बहादुर चौधरी शुक्रबार ट्राईसाईकल पाएसँगै खुसी देखिए ।
नगरपालिकाले वितरण गरेको ट्राईसाईकलको मद्दतले अब आफुलाई घरबाहिर पनि हिडडुल गर्न सहज हुने भन्दै उनी खुसी देखिएका थिए । उनले नगरपालिकाले आफ्नो अवस्था अनुसारको सामग्री आफुलाई प्रदान गरेको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गरे ।

४२ वर्षिय उनी विगत ५/६ वर्षदेखि हिड्न नसक्दा घरबाहिर आउनै नसकेको बताउँछन । ‘हिडडुल गर्न नसकेको ५/६ वर्ष भैसक्यो, नसाको समस्याका कारण खुट्टा चलाउन सक्दिन’ उनले भने ‘अब भने ट्राईसाईकल चलाएर आफुले चाहेको ठाउँमा जान सक्छु ।’
उनले अब नगरपालिकाबाट आफुले कुनै किसिमको तालीम पाए जिविको पार्जनमा सहज हुने बताए । उनी जस्तै जंग बहादुर खड्का पनि ट्राईसाईकल पाउदाँ एकदमै खुसी देखिए ।
खुट्टा भाँचिएपछि अपांग बनेका उनले गत वर्ष नगरपालिकासँग ट्राईसाईकलको माग गरेका थिए । ‘बैशाखी टेक्दा हात दुखेकाले ट्राईसाईकलको माग गरेको थिए’ उनले भने ‘नगरपालिको माग पुरा गरिदिएको छ एकदमै खुसी छु ।’
कृष्णपुर – १ का ७२ वर्षिय खड्का बैशाखीले टेकेर हात दुखेपछि हात समेत चलाउन नसक्ने अवस्थामा पुगेको बताउँछन । उनले ट्राईसाईकल पाएसँगै अब आफुलाई हिडडुल गर्न सहज भएको र हात दुख्ने समस्या पनि नरहने बताए ।


नगरपालिकाले ३०औ अन्र्तराष्ट्रिय अपांगता दिवशको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै नगरभित्र रहेका ७ जना अपांगता भएका व्यक्तिलाई ट्राईसाईकल वितरण गरेको हो । नगरप्रमुख कर्ण बहादुर हमालले शारिरीक अपांगताका कारण यताउती हिडडुल गर्न नसक्ने व्यक्तिहरुलाई ट्राईसाईकल वितरण गरेको बताए ।
उनले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको भएपनि माग गरिएको समय भन्दा ढिला सामग्री पुग्दा वितरण पनि ढिला नै भएको बताए । उनले अब चालु आर्थिक वर्षमा पनि अपांगता भएका व्यक्तिका लागी विभिन्न कार्यक्रमहरु निति तथा कार्यक्रममा समावेश गरिएको बताए ।
उनले स्थानिय सरकार आईसकेपछि अपांगता भएका व्यक्तिहरुको दैनिकि सहज गर्न थुप्रै गतिविधि अगाडी बढाएको बताए । ‘नगरपालिकाले परिचय पत्र वितरण कार्यविधि २०७५ नगरसभाबाट पारित गरी अपांगता भएका व्यक्तिहरुलाई सहज रुपमा परिचय पत्र वितरण गरेको छ’ उनले भने ‘त्यतिमात्र नभई नगरपालिकामा पुगेर अपांगता परिचय पत्र लिन नसक्ने अपांगता भएका व्यक्तिहरुलाई पनि अपांगता परिचय पत्र वितरण समन्वय समितिले घरघरमै गएर परिचय पत्र वितरण गरिरहेको छ ।’
उनले अपांगता भएका व्यक्तिहरुको सहजताका लागी नगरपालिकाले विभिन्न सहायक सामग्रीहरु वितरण गर्दै आईरहेको समेत बताए । यसैगरी उपप्रमुख रमिता रानाले अपांगता भएका व्यक्तिहरुलाई सबैको सहयोग आवश्यक रहने बताईन । उनले अपांगता भएका व्यक्तिका अधिकार कागजमा मात्रै सिमित रहेको गुनासो आईरहेका बेला नगरपालिकाले अपांगता भएका व्यक्तिहरुका हक र अधिकारलाई व्यवहारमा उतार्न पनि पहलकदमी चाल्ने उनले प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन सिँह विष्ट, नगरका विभिन्न अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला शाखा प्रमुख माला गौतमले गरेकी थिईन ।
नगरपालिकाले आर्थिक वर्षमा २०७७/०७८ मा नगरभित्र रहेका अपांगता भएका व्यक्तिहरुलाई अपांगता सहायक सामग्री वितरण गर्न बजेट छुट्याएको थियो । सोही अनुरुप नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको प्राविधिक सहयोगमा नगरपालिकाले २६ जना अपांगता भएका व्यक्तिलाई आवश्यकता अनुसारका सामग्रीहरु वितरण गरेको हो ।
यसअघि नगरपालिकाले १३ जनालाई ह्विलचियर, ५ जनालाई बैशाखी र १ जनालाई कृतिम खुट्टा वितरण गरेको थियो । शुक्रबार दिवशको अवसर पारी ७ जनालाई ट्राईसाईकल वितरण गरिएको हो ।

















