अत्तरियामा भव्यताका साथ मनाईयो अपांगता दिवस
अत्तरिया – कैलालीको अत्तरियामा ३० औं अन्र्तराष्ट्रिय अपांगता दिवस भव्यताका साथ मनाईएको छ । गोदावरी नगरपालिकामा रहेको नगरस्तरिय अपांगता कार्य सञ्जालले एक औपचारीक कार्यक्रमको आयोजना गरी भव्य रुपमा दिवस मनाएको हो ।

सञ्जालकी अध्यक्ष पुष्पा रोकायाको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिह साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा नगर उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले नगरपालिकाबाट अपांगता भएका व्यक्तिहरुका लागी विभिन्न कार्यक्रमहरु ल्याउदै आएको बताए । उनले अपांगता भएका व्यक्तिलाई स्थानिय तहले मात्रै नभई व्यक्तिगत रुपमा तथा विभिन्न संघसंस्थाले पनि सहयोग गर्नुपर्ने बताए । सबैको सानो–सानो सहयोगले अपांगता भएका व्यक्तिहरुको जिवन परिवर्तनमा महत्वपुर्ण योगदान पु¥याउने बताउदै उनले अपांगता भएका व्यक्तिलाई हेलाको दृष्टिले नभई सहयोगी तथा माया, सद्भाव एव्म स्नेहको दृष्टिले हेर्नुपर्ने बताए ।

उनले सुप समावेशीमा विद्यालयमा रहेका अपांगता भएका बालबालीकाहरुको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने नगरपालिकाको एउटै सोच रहेको बताए । ‘अपांगता भएका बालबालिकामा पनि विभिन्न प्रतिभा, क्षमताहरु छन’ उनले भने ‘ति क्षमता, ति प्रतिभाहरुलाई समाजमा स्थापित गर्न सके र कुनै न कुनै ठाउँमा व्यवस्थापन गर्न सके उहाँहरुको भविष्य उज्वल हुन सक्छ ।’ उनले त्यस्का लागी नगरपालिका लागीरहेको बताए ।
यस्तै उपप्रमुख रत्ना कडायतले अपांगता भएका व्यक्तिहरुको उत्थानका लागी सहयोग गर्ने सम्पुर्ण संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिन । स्थानिय पालिकाले अपांगता भएका व्यक्तिहरुलाई पनि सपांग जस्तै माया गर्नुका साथै उनीहरुको अधिकार सुनिश्चित गर्न सहयोग गर्नुपर्ने उनले बताईन् ।
उनले अपांगता भएका व्यक्तिहरुका लागी नगरपालिकाले परिचयपत्र पनि वितरण गर्दै आईरहेको बताईन् । उनले अपांगता भएका व्यक्तिहरुलाई साथ र सहयोग गर्न सबैलाई आग्रह गरिन ।
कार्यक्रममा अपांगता क्षेत्रमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानीत गरिएको थियो । अपांगताका क्षेत्रमा विगतदेखी नै विभिन्न किसिमले सहयोग पु¥याउदै आएको संस्था ईम्प्याक्ट नेपाल, परिलक्षित लाई सम्मानित गरिएको सञ्जालकी अध्यक्ष रोकायाले बताईन् ।
१० हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग
यस्तै दिवसको अवसरमा सञ्जालले अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई करिब १० हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री पनि सहयोग गरेको थियो । सञ्जालले स्कुलमा रहेका बालबालिकाहरुका लागी चामल, दाल, तेल, नुन, सावुन, पेष्ट, मास्क लगायतका सामग्रीहरु सहयोग गरेको हो ।
८ जना बालबालिकाहरुलाई आर्थिक सहयोग
यस्तै उक्त कार्यक्रममा आर्दश शिक्षक मेघराज रोष्यारा अपांग सहायता केन्द्रले पनि सुप समावेशी आधारभुत विद्यालयका ८ जना बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको थियो । केन्द्रका सञ्चालक जयराज ओझाले विद्यालयका ८ जना अपांगता भएका बालबालिकाहरुलाई प्रतिव्यक्ति २ हजार ५ सय ५ रुपैयाँका दरले सहयोग गरेका हुन ।
गोदावरी नगरपालिकाका कर्मचारी विर बहादुर कुँवरको पहलमा विद्यालयका बालबालिकाहरुलाई सहयोग गरिएको थियो ।
किमको आर्थिक सहयोग
दिवसको अवसर पारी कुँवरको समन्वय एवम् सहकार्यमा दक्षिण कोरियाली नागरीक सिओल्मी किमको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ३ जना बालबालिकाहरुका लागी २२ हजार रुपैयाँ बराबरको सामग्री विद्यालयमा सहयोग गरिएको थियो ।
यसैगरी किमकै सहयोगमा अपांगता भएका गरिब, दुर्गम र जेहेन्दार ३ जना विद्यार्थीहरुलाई पुष महिनादेखी मासिक रुपमा प्रतिव्यक्ति नगद ५ हजार रुपैयाँका दरले प्रदान गरिने भएको छ ।
बजारमा र्याली
औपचारीक रुपमा कार्यक्रम सञ्चालन गरिनु अघि अपांगता भएका व्यक्तिहरुले अत्तरिया बजारमा र्याली निकालेका थिए । उनीहरुले राज्यका प्रत्येक निकायमा अपांगताको सुनिश्चितता गर, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर, अपांगता मैत्री भौतिक संरचना निर्माण गर, मलाई गणना गर लगायतका नाराहरु लगाउदै अत्तरिया बजार परिक्रमा गरेका थिए ।
गोदावरी नगरपालिका, परिलक्षित, ईम्प्याक्ट नेपाल र एनएडब्ल्युबि संस्थाको आर्थिक सहयोगमा सुप समावेशी आधारभुत विद्यालयको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन सञ्जालका सचिव ईन्द्र बहादुर बोहराले गरेका थिए ।