खाेज्नुहाेस

कञ्चनपुरको बैजनाथ विद्यालयमा भवन अभाव

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको वैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठामात्रै रहेका छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकासका दुई कक्षा र बाँकी रहेका तीन कोठामा पाँच कक्षासम्मका विद्यार्थीलाई राखेर पठनपाठनको कार्य हुँदै आएको छ ।

attariya hospital

एउटै कोठामा एउटा कक्षाका विद्यार्थीलाई उत्तरतर्फ फर्काएर र अर्को कक्षाका विद्यार्थीलाई दक्षिणतर्फ फर्काएर पठाउने गरिँदै आएको छ । एउटै कक्षामा दुई/दुई वटा कक्षा सञ्चालन हुने भएकाले दुई शिक्षकले एकैसाथ पढाउँदा विद्यार्थीलाई पढाएको कुरा बुझ्नसमेत निकै समस्या हुने गरेको छ । ‘दुई शिक्षकले एकैसाथ पढाउँदा विद्यार्थीलाई बुझ्न निकै गाह्रो हुने गरेको छ’ विद्यालयका प्रधानाध्यापक कृष्णा चन्दले भने, ‘भवन अभाव हुँदा एउटै कोठामा दुई कक्षा सञ्चालन गर्न बाध्य छौँ ।’

navjiwan hospital

हिउँदका बेला घाम लाग्दा एउटा कक्षालाई कोठामा र अर्कोलाई चौरमा राखेर पठनपाठन गरिँदै आए पनि हुस्सु लागेको पानी परेका बेला दुई कक्षालाई एकैसाथ राखेर पढाउनुपर्ने अवस्था रहेको उनले बताए । विद्यालयमा रहेका दुई भवनमध्ये एक भवन सरकारीतर्फबाट निर्माण गरिएको हो । जसमा बालविकासका कक्षा र अर्कोमा कार्यालय सञ्चालन हुँदै आएको छ । अर्को भवन दातृ निकायले बनाइदिएको हो । दातृ निकायले बनाएको भवनमा रहेका तीन कोठमा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई राखेर पठनपाठन हुँदै आएको छ ।

कक्षाकोठामा विद्यार्थीलाई बस्नका लागि पर्याप्त बेञ्च र डेस्कको व्यवस्थासमेत रहेको छैन । भवनको व्यवस्था गर्नका लागि नगरपालिकाको शिक्षा शाखामा पटकपटक पत्राचार गरि सकेको भए पनि अश्वासनबाहेक भवन निर्माण हुन नसकेको विद्यालयका प्रअ चन्दको भनाइ रहेको छ । विद्यालयको कार्यालय कक्षमा समेत दराजलगायत आवश्यक शैक्षिक सामग्रीकोसमेत अभाव छ ।

विद्यालयमा सुकुम्बासी, दलित, जनजाति र भूमिहीन परिवारका बालिबालिका पठनपाठनको कार्य गर्दै आएका छन्। विद्यालयमा १५० बालबालिका पढ्दै आएका छन् । विद्यालयमा शिक्षक दरबन्दी समेत अभाव छ । तीन जना शिक्षिका राहत कोटामा र एक जना शिक्षक निजी स्रोतमा कार्यरत छन् । निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोर्नसमेत विद्यालयलाई धौधौ रहेको छ ।

रासस