अत्तरिया – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलाली क्षेत्र नम्बर ४ को सभापति पदका लागि दिनेश राज जोशीले र बसन्त रोकाया (ललीत) ले उम्मेदवारी घोषणा गरेका छन । हाल कैलाली क्षेत्र नम्बर ४ का सभापति रहेका जोशीले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन भने कांग्रेस कैलालीका जिल्ला सदस्य रहेका रोकाया पनि उक्त पदका लागि उम्मेदवारी दिएका छन ।
२०४६ सालको जनआन्दोलनबाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका जोशी यसअघि कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा आफ्नो पहिलो कार्यकाल पुरा गरिसकेका छन । उम्मेदवारी घोषणा गर्दै जोशीले कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउबाले लिएको नीतिलाई आत्मसात गर्दै अगाडी बढ्ने बताएका छन ।


उनले आफू पुनः नेतृत्वमा आए यस क्षेत्रको गुटबन्दी राजनीतिलाई परास्त गर्ने बताएका छन ।
यस्तै सभापतिमा उम्मेदवारी दिएका रोकायाले पुराना नेता तथा अग्रज अभिभावकहरुको सल्लाह, सुझाव र आर्शिवादलाई आत्मसाथ गर्दै युवाहरुको जोसका साथ आफ्नो उम्मेदवारी रहेको बताए । आफु सभापतिमा विजयी भए कांग्रेस पार्टीमा रहेको गुटउपगुटको अन्त्य गरी क्षेत्रमा पार्टीलाई एक बनाउने उनले बताए ।
यो संगै कैलाली क्षेत्र नम्बर ४ मा चुनावी प्रक्रियाबाट सभापतिको टुङ्गो लाग्ने निश्चित भएको छ । कांग्रेसको क्षेत्रिय अधिवेशन सोमबार हुँदै छ ।



















