खाेज्नुहाेस

कालापानीमा अनुमानका आधारमा जनगणना हुने 

Image

दार्चुला – दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अनुमानका आधारमा जनगणना गरिने केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

भारतले अनुमति नदिए उक्त क्षेत्रहरुमा प्रविधिको प्रयोग गरेर अनुमानका आधारमा जनगणना गरिने विभागले बताएको हो ।

attariya hospital

‘त्यो हाम्रो भूभाग हो । हाम्रो नक्साभित्र परेको भूभाग हो । तर हाम्रो सहज आवत जावत छैन । भारतको आर्मीले घेरेर बसेको छ । हामीलाई भित्र छिर्न दिँदैन’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने ।

उनले जनगणनाको लागि कुटनीतिक पहल जरुरी रहेको बताए । ‘हामीले छलफल गरिसकेका छौं । परराष्ट्र मन्त्रालयले भारतसँग उच्च तहमा पहल गरेर सहज आवत जावत भयो भने हामी जनगणना गराउन तयार छौं । राम्रो विकल्प यहीँ हो,’ उनले भने ।

भारतसँग कुटनीतिक पहल पनि सम्भव नभए अनुमानका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा जनगणना गर्ने योजना रहेको उनले बताए ।

विभिन्न स्रोतहरु, त्यहाँ सम्बन्धित व्यक्ति र नजिक पहुँच भएका ठाउँहरुबाट प्राप्त सूचनाले ८ सयसम्म जनसंख्या रहेको देखाएको उनले बताए ।

navjiwan hospital

‘प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटलाइटको प्रयोग गरेर ती क्षेत्रमा कति घर छ भनेर काउन्ट गर्न सकिन्छ । घर काउन्ट भइसकेपछि एउटा घरमा औसत कतिजना बस्छ भन्ने विवरण लिन हामीलाई गाह्रो हुँदैन । केही अनुमानसहित रिपोर्ट प्रकाशन गर्नेछौं,’ महानिर्देशक श्रेष्ठले भने ।

दार्चुलामा १८३ जना गणक फिल्डमा खटिए 

राष्ट्रिय जनगणना २०७८ अन्तरगत जनगणना गर्न दार्चुलाका गणकहरुलाई फिल्डमा खटाइएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

जनगणना सम्बन्धि सम्पुर्ण तालिम दिएर उनिहरुलाई फिल्ड खटाइएको विभागले जनाएको छ । आज देखि आउँदो मङिसर ९ गतेसम्म हुने गणनाका लागि जिल्लामा १ सय ८३ जना गणक र ४९ जना सुपरिवेक्षकलाई तालिम दिएर खटाएको जनगणना कार्यालय दार्चुलाका जनगणना अधिकृत पदम राज पाण्डेले जानकारी दिए ।

जिल्लामा यस अघि घर तथा घरपरिवार लगत सूचीकरण कार्य गरिसकिएको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको जनगणना कार्यालयले जनाएको छ । यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्यांक तयार गर्नेछ ।

दार्चुलामा २०६८ को जनगणना अनुसार १ लाख ३३ हजार २ सय ३४ जनसंख्या रहेको छ, भने २४ हजार घरपरिवार संख्या रहेका छन् ।  देशमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो ।