डडेल्धुरा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ गर्ने बताएका छन । बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा ओली गुटको पत्तासाफ पार्ने दाबी गरे ।
उनले आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने पनि बताए । ‘अहिले पाँच दलको गठबन्धन छ । आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं । त्यो पाँचै दलबीच सहमति भइसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘केपी गुटको पत्तासाफ गरिदिनेछौँ ।’


उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनको भनाइ थियो । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले बताए ।
भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे ।
यसका साथै अध्यक्ष नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि टिप्पणी गरेका छन् । उनले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भएपनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे ।
‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ, निर्वाचन आयोगमा गएर त्यसका लागि लडें’, उनले भने, ‘तर के गर्ने आज त्यही सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर मेचीदेखि महाकाली सम्मको अभियानमा उभिएका छौं । अब जनताले चिन्नेछन् न्यायको पक्षमा उभिने कलम नै सही रहेछ ।’

















