खाेज्नुहाेस

पहिरोले अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा

Image

धनगढी – साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । असोजको दोस्रो सातामा केही दिन सामान्य सञ्चालनमा आए पनि असोज ३१ देखि कात्तिक २ गतेसम्म लगातार परेको अविरल वर्षाले साँफे मार्तडी सडक अन्तर्गतको बल्देमा पहिरो गएपछि साँफे मार्तडी सडक दुई हप्तासम्म अवरुद्ध भएको थियो ।

सवारी साधन मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीलाई सामान ढुवानी साथै यात्रु आवागमन गर्न समस्या थियो । सामान ढुवानी गर्न असहज भएपछि उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नु परेको स्थानीयवासीको भनाइ छ ।

attariya hospital

सडक डिभिजन कार्यालय साँफेबगर अछामले मर्मत गरेपछि आंशिक रुपमा सडक सञ्चालन भएको छ । सडक पूरै क्षति भएकाले अहिले हलुका सवारी साधन जीप तथा ट्र्याक्टर मात्र सञ्चालन हुने गरी बाटो खुलाइएको सडक डिभिजन कार्यालय अछामका प्राविधिक गोकुल गिरीले जानकारी दिए ।

गिरीका अनुसार सडक तलमाथि पानीका मुहानहरु नसुकेका कारण सडकमा पर्ने प्रभावले ठूला सवारी साधन बस, ट्रकहरु सञ्चालन गर्न अझै केही दिन लाग्ने भएको छ । गत जेठ २३ गते आएको अविरल वर्षाका कारण पाँच महिना पूर्णरुपमा बन्द भएको साँफे मार्तडी सडकखण्ड असोजमा सामान्य मर्मतपछि केही दिन सञ्चालन भए पनि फेरि कात्तिक पहिलो साताबाट पूर्णरुपमा बन्द भएको थियो ।

वर्षाले अम्कोट बल्दे क्षेत्रको एक किलोमिटरभन्दा बढी सडक पूर्णरुपमा तहसनहस पारेपछि अहिले लामो दूरीका ठूला सवारी साधन भने अझै बल्देमा रोकिएका छन् ।

navjiwan hospital

बाजुरामा सञ्चालनमा रहेका स्थानीय सडकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले पनि सो क्षेत्रको सडकको अनुगमन गरेको छ । सो टोलीले तत्कालका लागि त्यसै ठाउँमा मर्मत गरेर बाटो खोल्ने काम गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सडक सञ्चालन गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षातका कारण सडकको तलमाथि दुवैतिरबाट पहिरो बग्न नरोकिएपछि लामो समयसम्म सडक अवरुद्ध हुँदै गएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रजिअ समीर भण्डारीले बताए ।

लगातार अवरुद्ध भएको मार्तडी–कोल्टी सडक पनि सञ्चालन भएको छ । वर्षातको समय असार पहिलो हप्तादेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडकखण्ड सोमबारदेखि सञ्चालन भएको हो । जिल्ला प्रशासन कार्यालयबाट लगातार निर्माण व्यवसायीलाई ताकेता दिएपछि तिहारको मुखैमा सडक सञ्चालन गर्न सकिएको सहायक प्रजिअ भण्डारीले जानकारी दिए ।

असार पहिलो साताबाट अवरोध भएको सडक केहीदिन अगाडीको मौसमी वर्षाले अझ बढी सडक भत्काएको थियो । असारमा अवरुद्ध बनेको सडक पाँच महिनापछि सञ्चालन र समान ढुवानी गर्न सहज भएको छ ।

रासस