
बैतडी – महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँड घाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।
सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।
डुङ्गा दुर्घटनामा परी मृत्यु भएकी शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने बिहीबार बिहान महाकाली नदीको पारि भारतमा शव फेला परेको थियो ।
दश जना सवार डुङ्गा पल्टिँदा आठ जना पौडेर बाँच्न भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । दसैँंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको हो ।
महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन्। जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुङ्गाको सहयताले वारिपारि जाने गर्दछन् । रासस

















