कञ्चनपुर – महाकाली नदीमा आएको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको १० हेक्टर बढी वन क्षेत्र कटान गरेको छ । झोलुङ्गे पुलबाट ३ किलोमिटर दक्षिणतर्फ महाकाली नदीले निकुञ्जको वन क्षेत्रको कटान गरेको हो ।
‘महाकालीको बाढीले लामो समयदेखि कटान गरिरहेको थियो,’ निकुञ्जका सहायक संरक्षण अधिकृत रबिन चौधरीले भने, ‘यसपालि त धेरै कटान ग-यो ।’ उनका अनुसार महाकालीले बर्सेनि दुई/चार हेक्टर कटान गर्दै आएको थियो । एकै पटक ठूलो मात्रामा कटान गरेको यही वर्ष हो ।


निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रमा सय बढी ठूला रुख र ४ सय बढी पोथ्रा बगाएको छ । कटान गरेको स्थानमा अग्लो क्षेत्रमा साल वन र होचो क्षेत्रमा नदी तटिय वन जामुन, सिसौं, खयर र सिमल रहेको छ ।
उक्त क्षेत्रमा हात्ती, गैंडा, बाघ र चित्तललगायतका वन्यजन्तु पानी पिउन तथा चर्नका लागि आउने गरेका छन् । हात्तीको प्रमुख चरन क्षेत्र पनि यही हो ।
अविरल वर्षापछि निकुञ्ज भित्रका विभिन्न खोलानालामा आएको बाढीले घाँसे मैदानमा पनि पटान गरेको छ । महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेर निकुञ्जभित्रै प्रवेश गरेको थियो ।

















