धनगढी – बेमौसमी वर्षाले सडक सम्पर्क टुटेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट डोटी र बझाङमा उडान सुरु गरेको छ । निगमले आइतबारदेखि १९ सिट भएको टुइनअटर जहाजबाट सो क्षेत्रमा सेवा सुरु गरेको हो ।
निगमले २ जिल्लामा उडान सुरु गरेपनि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन नगर्दा भने सेवा प्रभावित बन्न पुगेको छ । निगमले जहाज पठाएपनि कर्मचारी नपठाउँदा यात्रुहरुको नाम संकलन गर्ने, सामान राख्ने, जाँचमा सहजीकरण गर्ने, टिकटको पैसा उठाइदिने काम समेत प्रहरी र अन्य कर्मचारीले गरेका छन ।

निगमका कर्मचारी नआउँदा आइतबार बझाङमा प्रमखु जिल्ला अधिकारी (सीडीओ) आफै विमानस्थलमा खटिएरका थिए भने धनगढीमा विमानस्थल प्रहरी र कर्मचारीले, डोटीमा एटीसी तथा सुरक्षाकर्मीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, यात्रु जहाजमा चढाउने, सामान लगेज लोड–नअलोड गर्ने काम गरेका छन ।
निमगले उक्त कामका लागि नेपालगन्जबाट ५ जना आफ्ना कर्मचारीलाई धनगढी पठाएको भएपनि ति कर्मचारी शनिबार साँझ नै नेपालगन्ज फर्किएका छन ।

धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले निममका कर्मचारी नभएकाले प्रहरीले यात्रुहरुको नाम संकलन गर्ने, सामान राख्ने, जाँचमा सहजीकरण गर्ने, टिकटको पैसा उठाइदिने काम गरेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबार काठमाडौं फर्केर निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नायब महाप्रबन्धक गणेश चन्दलाई तत्काल सडक सम्पर्क टुटेका डोटीको दिपायल र बझाङको चैनपुरमा उडान राख्न निर्देशन दिएका थिए । सोही अनुसार शनिबार नै निगमले उडान तालिका सार्वजनिक गरेको थियो ।
‘निगमको धनगढीमा कार्यालय बन्द छ । सडकबाट जान नसकिने भएपछि जहाज चढ्ने यात्रु र बझाङमा सीडीओबीच तनाव भएछ । निगमले जहाजमै राखेर ५ जना कर्मचारी पठाएको थियो । तर उनीहरु दुइटा फ्लाइट सकेर नेपालगन्ज फर्किसके,’ विमानस्थल प्रमुख भट्टले भने, ‘यात्रुहरु निगमको टिकट लिन एयरपोर्ट धाइरहेका छन् । यात्रुको चाप छ । प्रहरीले नाम टिपेर सघाइदिरहेको छ । बझाङ र डोटीमा मैले त्यहाँ रहेका प्राधिकरणका एयर ट्राफिकलाई तत्काललाई हेरीदेउ भनेको छु ।’
१३ सय हाराहारी कर्मचारी भएको निगमले धनगढीबाट करिब २ दशकपछि डोटी र बझाङमा तत्कालका लागि उद्धार उडानमात्रै गर्ने जनाएको छ ।
दुइटा जहाज भएको निगमका कर्मचारीले आइतबार धनगढीमा पुगेपछि ‘प्रधामन्त्री र पर्यटनमन्त्री’को दबाबले उडान राखेकाले आउनु परेको भन्दै यात्रुलाई सहजीकरण गर्न पनि आनकानी गरेको धनगढी विमानस्थल प्रमुख भट्टले बताए ।
आइतबार बझाङ र डोटी उडानमा निगमको जहाजमा दुबै तर्फका उडानमा सिट भरिएका थिए ।




















