सुदूरपश्चिमका बाढीपहिरो पीडितहरुलाई आजदेखी राहत बाडिदै
अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो पिडितहरुलाई आजदेखी राहत बाड्न सुरु गर्ने भएको छ ।
हालैको वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित व्यक्तिहरुलाई प्रदेश सरकारले आजदेखी राहत बाड्ने भएको हो । प्रदेश सरकारले राहत उद्दार तथा व्यबस्थापनमा २५ करोड छुट्टाएको छ ।
यसअघि जोखिम न्यूनिकरणमा विपद् प्रारम्भमै आंसिक रुपमा केही राहत सामाग्री बाँडेको सरकारले क्षतीको विवरण आउदै गर्दा आज शनिबारदेखि पूर्ण प्याकेजको राहत बाँड्न थालेको हो ।
राहत वितरणमा मुख्यमन्त्री त्रिलोचन भट्ट पनि सहभागी हुने भएका छन । आज हेलिकोप्टरमार्फत प्रदेशका पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिका बैतडीको ढुङ्गाड र बझाङको थलारा लगायतका अतिप्रभावित स्थानमा राहत सामग्री पठाईने मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँबर (प्रख्यात) ले बताए ।
उनले राहत पुगिसकेपछि मुख्यमन्त्री भट्ट आईतबार उक्त स्थानमा जाने बताए । उनले सडक भत्केर यातायात बन्द भएका जिल्लामा ईन्धन तेलको अभाव भएकाले त्यो पनि आपुर्ति गर्नेतर्फ मुख्यमन्त्रीले पहल गरिरहेको जानकारी दिए ।
सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले क्षतिको विवरण संकलन गरिसकेको बताईन । उनले आजबाट राहत वितरणको कार्य सुरु भैरहेको बताईन ।
यसपटक राहत वितरणका लागी एकद्धार प्रणाली अपनाईने समेत उनले बताईन । उनले यसका लागी प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग पनि छलफल गरिसकेको बताईन ।
‘विगतमा आ–आफ्नो तरिकाले राहत बाँड्दा कसैले पटक–पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या देखिएको थियो’ मन्त्री जोशीले भनीन ‘यसबेला सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्ने गरी एकद्धार प्रणाली लागु गरेका हौ ।’
उनले टाठा बाँठाले पटक पटक पाउने र सोझो पिडितले एक पटकपनि नपाउने घटना धेरै सुनिएकाले त्यसको अन्त्यका एकद्वार प्रणालीबाट राहत वितरण कार्य गरिने बताईन ।
सुदूरपश्चिम प्रदेशमा गत आईतबारदेखि आएको बाढी पहिरोमा परि ४३ जनाको ज्यान गएको छ, भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् ।