खाेज्नुहाेस

सडक निर्माणको डेढ दशकपछि धनगढी–स्याउले सडक खण्डमा कालोपत्रको काम सुरु

Image

गोदावरी – धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ ।

सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो ।

attariya hospital

कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ ।

धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उहाँको भनाइ छ ।

navjiwan hospital

ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र गरिसक्ने भन्नेछ। सडकको नाली बनाउने काम सुरु गरिएको बताउँदै ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले भने, ‘अब सडक निर्माणले तीव्र गति पाउनेछ । २०६४ सालमा खुटिया–दिपायल द्रुत मार्गको औपचारिक रुपमा सर्भे गरी ट्रयाक खोल्ने काम भएको थियो ।

त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भेको बताउँदै आयोजनाका सबइन्जिनियर रानाले स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुत मार्ग बनाउने निर्णय भएको बताए ।

सडकको कूल चौडाइमध्ये नौ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्र गरिने जनाइएको छ । १३.४ किलोमिटर सडकमा तीनवटा कल्भर्ट निर्माण गरिनाका साथै १६ वटा ह्युमपाइप राखिने ठेकेदार कम्पनीका इन्जिनियर थापाले जानकारी दिए ।

आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकले धनगढी–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग र महाकाली करिडोरलाई सामरिक महत्वका सडक भन्दै तीनैलाई निर्माणको प्राथमिकतामा राखेको थियो ।

रासस