धनगढी – बाजुरामा कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षबाट उम्मेदवारी दिएका निवर्तमान पार्टी सभापति कबिराज पण्डित पराजित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित भएका छन ।
देउवा पक्षको गढका रुपमा रहेको बाजुरामा पौडेल पक्षका रामसिंह रावल विजयी भएका छन् । देउवा पक्षलाई पराजित गरेपछि पौडेलले उत्साहित हुँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो ।’



बाजुरामा संस्थापन पक्षको ‘शर्मनाक’ हार भएको संस्थापनइतरको बुझाइ छ । पदाधिकारीमा समेत देउवा पक्ष नराम्रोसँग पराजित भएको छ । दोस्रो चरणमा भएको मतदानमा ११ सय ८२ मत खसेकोमा रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका थिए ।
पहिलो चरणमा कबिराज पण्डित, रामसिंह रावल र चक्र शाहबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नपुगेपछि सभापतिको लागि दोस्रो चरणमा मतदान भएको हो ।
बिहीवार सम्पन्न मतगणनामा उपसभापतिमा निर्वाचित पदम बडुवाल, नारायण पाध्याय पौडेल र सिटौला पक्षका हुन् । त्यस्तै सचिवमा निर्वाचित तिलक पुरी, भरत बहादुर रोकाया पनि पौडेल र सिटौला पक्षका हुन् । पदाधिकारीमा सहसचिव सुरेन्द्र बहादुर सिह मात्रै देउवा पक्षका हुन ।
बाजुरामा देउवा समूहको गढ भत्काउन पौडेल पक्षका नेता बद्री पाण्डे एक महिना अघिदेखि जिल्लामा खटिएका थिए ।




















