खाेज्नुहाेस

महाकाली शारदा गुरुकुल सञ्चालन

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ ।

वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पु¥याउने उद्देश्य लिएर आवासीय गुरुकुल सञ्चालन गरिएको हो । नगरपालिकाको शिक्षा शाखाबाट गुरुकुलमा आधारभूत तहको कक्षा ६ सम्मको पठनपाठन गर्ने अनुमति पाइएको छ ।

attariya hospital

अनौपचारिकरुपमा गुरुकुलमा शैक्षिकसत्र २०७७ देखि पठनपाठन सुरु गरेको भए पनि शैक्षिकसत्र २०७८ बाट स्वीकृति लिई कक्षा सञ्चालन गरी पठनपाठनको कार्य भइरहेको गुरुकुलका संस्थापक सदस्य मोहनचन्द्र जोशीले बताए ।

‘गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य रहेको छ ।’ निर्धारित पाठ्यक्रमअनुसार नेपाली, अङ्ग्रेजी, गणीत, कर्मकाण्ड, संस्कृत ब्याकरण, नीतिशास्त्र र संस्कृत संरचना लगायत विषय पठनपाठन भइरहेका छन् ।

navjiwan hospital

गुरुकुलमा छात्रा दुई र छात्र १० गरी १२ जना भर्ना भएका छन् । चालू शैक्षिकसत्रमा १५ जना विद्यार्थी भर्ना गर्ने गुरुकुलले लक्ष्य लिएको छ ।

‘मुठ्ठी दानका माध्यमबाट गुरुकुल सञ्चालन भइरहेको छ’, संस्थापक सदस्य जोशीले भने, ‘केही दाताले पनि सहयोग गरेका छन्, दाताकै भरमा छौँ ।’ गुरुकुल सञ्चालनका लागि छुट्टै भवनसमेत अभाव छ।

धाम क्षेत्रकै आश्रममा गुरुकुलमा पठनपाठनको कार्य हुँदै आएको छ । शिक्षक दरबन्दीका लागि नगरपलिकासँग आग्रह गरिएको उहाँले बताए । हाल गुरुकुलमा दुई शिक्षकले पठनपाठनको कार्य गर्दै आएका छन् ।

मुठ्ठी दानबाट सङ्कलन भएको रकमबाट शिक्षकको तलब र गुरुकुलमा बसेर पढ्दै आएका विद्यार्थीको खाना खर्च बेहोरिँदै आएको छ । मासिकरुपमा शिक्षकको तलबका लागि रु ३५ हजार र विद्यार्थीको खाना खर्च रु १५ हजार गरी रु ५० हजार जति खर्च हुने गरेको छ ।

गुरुकुलमा बझाङ, कैलाली र कञ्चनपुरका विद्यार्थी भर्ना भई पढ्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा १८ गुरुकुल सञ्चालनमा छन्। त्यसमध्ये दुई कञ्चनपुरमा छन् ।

रासस