धनगढी – धनगढीको नवजीवन अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको शव आफन्तले बुझेका छन् । अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार अपराह्न अस्पताल र आफन्तबीच सहमति जुटेपछि आफ्न्तले शव बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन ।

यसअघि मृतक डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लका आफन्तले घटनाको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै शव उठाउन मानेका थिएनन् ।

शनिबार सुत्केरी ब्यथा लागेपछि नवजीवन अस्पताल पुगेकीको आइतबार बिहान मृत्यु भएको थियो । सुत्केरीका आफन्तले अस्पतालमा नियमित चेकजाँच गर्दा पनि सुत्केरीको समस्या थाहा नपाउनु, बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा सुत्केरीको मृत्यु भएको दाबी गरेका थिए ।
उता अस्पतालले भने लापरवाहीका कारण सुत्केरीको मृत्यु नभई रक्तश्रावपछि ‘अचानक हृदयघात’ भएका कारण सुत्केरीको मृत्यु भएको जनाएको थियो । अस्पतालले आइतबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालले ती महिलाको रक्तश्रावपछि ‘अचानक हृदयघात’ भई मृत्यु भएको दाबी गरेको थियो ।
नवजिवन अस्पताल परिसरमा मृतकका आफन्तले बिरोध प्रदर्शन समेत गरेक थिए । उपचारका क्रममा चिकित्सको लापरवाही भएको भन्दै बिरोध गरिरहेपछि प्रहरीले अस्पताललाई सुरक्षा घेरामा राखेको थियो ।


















