अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको बेरुजु ९ करोड ५९ लाख ६२ हजार रहेकोमा त्यसमध्ये असुल गर्नुपर्ने बेरुजु मात्रै ७ करोड १३ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कैलालीको सबैभन्दा बढी असुल गर्नुपर्ने बेरुजु गोदावरीमा देखिएको हो ।
त्यस्तै नगरपालिकाले प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड, ५३ लाख ८९ हजार, नियमित गर्नुपर्ने ४३ लाख ४७ हजार, म्याद नाघी पेस्की बाँकी रकम ४७ लाख २६ हजार रुपैयाँ महालेखाले बेरुजुमा औंल्याएको छ ।

नगरपालिकाले कोरोना महामारीका कारण प्राकृतिक श्रोत तथा अन्य आयको बुझाउन बाँकी आय मिनाहा गर्ने निर्णय गरेको थियो । तर, महालेखा परीक्षकको कार्यालयले भने ठेकेदारलाई लाभ पु-याउने ध्येयले सो निर्णय लिईएको भन्दै सो रकम बेरुजुमा राखेको छ । प्रतिवेदनमा भनिएको छ ‘सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ मा समेत सो व्यवस्था रहेको छैन ।
जिल्लाका अन्य नगरपालिकाले बैंक धरौटी समेत जफत गरेर, बाँकी रकम असुल गरेकोमा ठेकेदारलाई लाभ पु¥याउनले ध्येयले निर्णय गर्नु उचित देखिएन ।’ नगरपालिकाले कोरोना महामारीका कारण भन्दै ४ करोड १३ लाख ८१ हजार ८ सय १० रुपैयाँ मिनाहा गर्ने निर्णय गरेको थियो ।
यस्तै नगरपालिका संगै सम्झौता गरेका ठेकेदारले पनि १ करोड ६७ लाख ६४ हजार १ सय ५२ मूल्य अभिबृद्धि कर पनि नउठेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जसमध्ये खैराना र खुटिया नदीमा ढुङ्गा, गिट्टि, बालुवा, ग्राभेल उठाउने ठेक्का पाएको स्वाँर कन्स्ट्रक्सन प्रालिले १ करोड २३ लाख ५० हजार, गोदावरी नदीमा ढुङ्गा, गिट्टि, बालुवा, ग्राभेल उठाउने ठेक्का पाएको भवानी कन्स्ट्रक्सनले २३ लाख ५३ हजार १, विज्ञापन कर उठाउने ठेक्का पाएको ऋितिका मिडिया प्रालिले १ लाख १ हजार १ सय ५०, कवाडी ठेक्का पाएको भूमिराज बिल्डर्सले ६ लाख ७६ हजार र अत्तरिया बसपार्कको पार्किङ शुल्क उठाउने ठेक्का पाएको रेखा निर्माण सेवाले १२ लाख ७४ हजार रुपैयाँ ठेकेदारले सम्भौता गर्दा १३ प्रतिशत मुल्य अभिवृद्धि कर आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्ने भएपनि हालसम्म असुल नभएको उल्लेख छ ।
यस्तै नगरपालिकाले कोरोना महामारीको समयमा पनि दिवा खाजा वाफत रकम वितरण गरेको पाइएको छ । महालेखाको प्रतिवेदनमा २०७६ फागुन २३ गते ५० विद्यालयलाई २०७६ चैत देखि २०७७ जेष्ठ सम्मको दिवा खाजा बाफतको ७६ लाख ३२ हजार ९ सय ९० रुपैयाँ भुक्तानी गरको उल्लेख छ ।
महालेखाले विद्यालय बन्द रहेको समयमा भुक्तानी गरिएको सो रकम पनि असुल गरी संघिय संचित कोषमा दाखिला गर्न भनेको छ । प्रतिवेदनमा गुणस्तर पक्षको निरिक्षण र परीक्षण नगरी भुक्तानी भएको १२ लाख पनि असुल गर्न भनिएको छ ।

त्यस्तै सडक कालोपत्रे गर्दा ठेकेदार तथा उपभोक्ता समितिले भेरिएसनको ल्याब रिपोर्ट नक्कली पेस गरेकाले उक्त बिल बाफत भुक्तानी भएको रकम पनि असुल गर्न भनिएको छ । सडक कालोपत्रे गर्दा पूर्वाधार विकास कार्यालय, कैलालीको ल्याबबाट परिक्षण गर्नुपर्ने भएपनि गोदावरीमा सडक कालोपत्रे गर्ने निर्माण व्यवसायी तथा उपभोक्ता समितिले नक्कली रिपोर्ट पेश गरेकाले ति व्यवसायी तथा उपभोक्ता समितिलाई कारवाही गर्न समेत महालेखाको प्रतिवेदनमा भनिएको छ ।
यसरी नक्कली रिपोर्ट बनाउनेमा रामजानकी मन्दिर जाने बाटो कालोपत्रे गर्ने बालिचन्द्र निर्माण सेवा, घण्टेश्वर विद्यालयमा सडक कालोपत्रे तथा नाला निर्माण गर्ने उपभोक्ता समिति, गौडी टुडेला कालोपत्रे सडक गर्ने उपभोक्ता समिति र गौडीदेखि नहरसम्म र कृष्ण प्रावि देखि गजरौलासम्म सडक कालोपत्रे गर्ने उपभोक्ता समिति रहेका छन । ति ४ वटै योजनामा नक्कली टेष्ट रिपोर्ट बनाएर नगरपालिकाबाट ३०÷३० हजार भुक्तानी भएको पाइएको छ । महालेखाले भुक्तानी भएको सबै रकम असुर गर्न भनेको छ ।
यस्तै बिभिन्न बाटाहरुमा ग्राभेल हाल्दा नगरपालिकाले रोयल्टी बिल पेश नगरी ७ लाख ३६ हजार ८ सय ८८ भुक्तानी गरेकाले सो रकम समेत असुल गर्न महालेखाको प्रतिवेदनमा भनिएको छ । आयकर ऐन २०५८ मा सेवा शुल्कको भुक्तानीमा १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने व्यवस्था भएपनि कम करकट्टी गरिएकाले सो रकम पनि असुल गर्नुपर्ने देखिएको छ ।
नगरपालिकाले कोरोना महामारीमा १ सय ५१ जना कर्मचारीलाई ४० लाख ३७ हजार ५ सय ८ रुपैयाँ भुक्तानी गरेकोमा सो बाफत ६ लाख ५ हजार ६ सय २६ कर कट्टि गर्नुपर्नेमा १ लाख ५१ हजार ३ सय ४५ मात्रै कर कट्टि गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रतिवेदनले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरले पनि नियम विपरित संचार खर्च लिएको पाइएकाले सो रकम समेत असुल गर्न भनेको छ ।
प्रतिवेदनमा स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७६ को दफा ३(१) बमोजिम अन्य सुबिधा लिन नपाइने भनिएपनि नगप्रमुख हरि सिह साउँदले १४ हजार ४ सय, नगर उपप्रमुख रत्ना कडायतले १३ हजार ५ सय र १२ वटै वडा अध्यक्षले ७५ हजार ६ सय रुपैयाँ असुल गर्नुपर्ने देखाएको छ ।
कैलालीमा सबैभन्दा बढी बेरुजु टीकापुर नगरपालिकामा देखिएपनि सबैभन्दा बढी असुल गर्नुपर्ने बेरुजु भने गोदावरी नगरपालिकामा देखिएको छ । टीकापुर नगरपालिकामा २३ करोड ७९ लाख ७१ हजार बेरुजु देखिएको छ भने असुल गर्नुपर्ने रकम ८८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
यता धनगढी उपमहानगरपालिकाको १० करोड २२ लाख ४४ हजार बेरुजु निस्केको छ, भने असुली गर्नु पर्ने ३ करोड ४ लाख २४ हजार देखिएको छ ।


















