अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका –४ दयापुरमा रहेको जनजागृति आधारभुत विद्यालयको ३÷३ कोठे २ वटा पक्की भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले नव निर्मित भवनको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले विद्यालयको सर्वागिंण विकाशका निमित्त विद्यालयमा भौतिक संरचनाहरु निर्माण गरिएको बताए । उनले गत दुई आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा गरी ६ कोठे पक्की भवन निर्माणका लागी बजेट विनियोजन गरिएको बताए ।

‘हामी निर्वाचित भएर आउनु अघि विद्यालयको भौतिक पुर्वाधारको अवस्था एकदमै दयनिय रहेको थियो । कोठाहरु साना थिए भने कच्ची संरचना भएकाले बालबालीकाहरुको पढाईमा पनि गुणस्तरियता देखिएको थिएन’ उनले भने ‘यसका साथै चिसो, गर्मी र हावाहुरीको समयमा बालबालीकाहरुको पठनपाठनमा समेत समस्या हुने गरेको थियो ।’
विल्ड अन नामक संस्थासँगको सहकार्यमा निर्माण गरिएका उक्त २ वटा भवनहरुले विद्यार्थीहरुको पठनपाठनमा सहजता प्रदान गर्ने उनले बताए ।

‘अहिले सुविधा सम्पन्न भवनहरु निर्माण भएका छन’ उनले भने ‘विद्यार्थीहरुलाई सुविधा सम्पन्न कक्षाकोठाहरुमा अध्ययन गर्न सहजता प्राप्त भएको छ ।’
उनले विद्यालयको विकाशका लागी नगरका तर्फबाट सहयोग गर्न तत्पर रहेको बताए ।
भौतिक संरचनाको अभाव झेलिरहेको अवस्थामा विल्ड अन सँगको सहकार्यमा नगरपालिकाले दिएको भवनले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने विद्यालयका अध्यक्ष हरि बहादुर कार्कीले बताए । उनले भौतिक संरचना निर्माणले विद्यालयमा अध्ययनरत २ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई बस्नलाई पर्याप्त सुविधा भएको बताए । विद्यालयको क्षेत्रफल बढी भएकाले भविष्यमा मावि तहसम्मको अध्यापन पनि गराउन सकिने बताउदै उनले त्यसका लागी पनि सहयोग गरिदिन सम्बन्धीत निकायलाई आग्रह गरे ।
विल्ड अन नेपाल र कृष्णपुर नगरपालिकाको संयक्त सहयोगले विद्यालयका दुई ओटै भवनहरु निर्माण सम्पन्न भएको विल्ड अन नेपालका फिल्ड संयोजक शिवराज रानाले बताए ।
उनले विद्यालयको पहिलो भवन निर्माणमा नगरपालिकाको ८ लाख र विल्ड अन नेपालको २४ लाख बराबरको आर्थिक एवम् प्राविधिक सहयोग भएकोमा दोस्रो भवन निर्माणमा नगरपालिकाको १० लाख र बिल्ड अन नेपालको २७ लाख बराबरको आर्थिक एवम् प्राविधिक सहयोग भएको बताए ।
उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शौचालयको पनि व्यवस्था गरिएको बताए ।



















