खाेज्नुहाेस

कच्चा पदार्थको अभावले डडेल्धुरामा डोको डालो बुन्ने पेशा संकटमा

Image

डडेल्धुरा – दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुख्र्यौली पेशा कच्चा पदार्थको अभावमा संकटमा पर्न थालेको छ ।

बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा संकटमा परेको हो ।

attariya hospital

बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारी लगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । तिलाडी, समैजी मुद्राड, अमरगढी नगरपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा यही पेशाका भरमा जीविकोपार्जन गर्दै आएको उक्त समुदायको पेशा संकटमा पर्दै गएको छ ।

‘बाँस र निगालो पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ’, अमरगढी नगरपालिका–७ पोखरा गाउँकी मङ्गली कैनीले भनीन, ‘परिवार पाल्न धौधौ भएको छ ।’ बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएको उनले पीडा सुनाईन ।

अहिले दलित समुदायले बाँस र निगालो खोज्न विभिन्न वन जङ्गल चहार्नु परिरहेको छ । एक दिन हिँडेर अजयमेरुको खतेडा जङ्गलबाट निगालो काटेर ल्याउनुपरेको कैनीले बताईन ।

navjiwan hospital

‘एक भारी निगालो रु. पाँच सयमा खरिद गर्नुपर्छ’ उनले भनीन, ‘कतिपय बेला निगालो र बाँसका लागि दुई दिनको बाटो हिँड्नु पर्छ ।’ टाढा टाढासम्म धाएर पनि बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा कैनीसँग छ ।

मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा पनि दलित समुदाय पीडित बन्नुपरेको छ । त्यसैले उनीहरु वैकल्पिक पेशा रोज्न थालेका छन । टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको छ ।

‘घरायसी सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थको अभावले सामग्री तयार गर्न सकेको छैन’ समैजी गाउँका जित पार्कीले भने । वन अतिक्रमणको समस्याका कारण पनि पछिल्लो समय बाँस र निगालो पाउन छाडेको छ ।

दलित समुदायले बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोकोलाई रु. ५ सयदेखि रु. ७ सयसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु. ४ सयदेखि रु. ३ हजार ५ सयसम्ममा बिक्री गर्दै आएका छन ।

दलित समुदायका युवा बाँस र निगालोको अभावका कारण यो पेशा छाड्न बाध्य छन् । निर्माण गरिएका सामग्री बिक्री गर्न बजारको समेत अभाव छ । नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन ।

बिक्री भएपनि उचित मूल्य पाउन सकेका छैनन । पछिल्लो समय बाँस र निगालोबाट निर्माण गरिएका सामग्री अभावका कारण धातु र प्लाष्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने चलन बढ्दै गएको छ ।

रासस