धनगढी – कैलालीका ५२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी दल रोजेका छन । सोमबार सम्म कैलालीका ५२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी दल रोज्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सोमबार सम्म जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरीदेवी चौधरी सहितका ५२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । जसमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापा र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर पनि छिन् ।


विभिन्न स्थानीय तहका पाँच जना वडाध्यक्षले पनि एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार धनगढी उपमहागरपालिका–१४ का वडाध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका–५ का वडाध्यक्ष जंगबहादुर बिक, वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर कुमाल, गोदावरी नगरपालिका–५ का वडाध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्य, मोहन्याल गाउँपालिका–४ का वडाध्यक्ष टेकेन्द्र बोगटी, घोडाघोडी नगरपालिकाका – ४ का वडा अध्यक्ष टेक बहादुर बुढा, वडा नम्बर ७ का वडाअध्यक्ष धन बहादुर बम र लम्की चुहाका वडा अध्यक्ष पूर्ण बिष्ट रहेका छन् ।
सनाखत गर्ने बाँकी वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । मंगलबार साँझसम्म दल रोज्ने जनप्रतिनिधिलाई सनाखत गर्ने समय भएकाले अझै आफ्नो पार्टीमा लाग्नेको संख्या वृद्धि हुने दाबी एकीकृत समाजवादी पार्टीले जनाएको छ । कैलालीका ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए भने एउटा स्थानीय तहमा प्रमुख मात्र छन् ।



















