खाेज्नुहाेस

कञ्चनपुरको शुक्लाफाँटामा थपिए बाघ

Image

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । तीन वर्षअघिको राष्ट्रिय गणनाको तुलनामा यस वर्ष तीनवटा बाघ बढी पाइएको हो ।

सन् २०१८ को राष्ट्रिय गणनामा शुक्लाफाँटामा ९ भाले, ६ पोथीसहित र एउटा लिंग पहिचान हुन नसकेकोसहित १६ वयस्क बाघ थिए । यस वर्ष गरिएको अनुगमनमा ६ भाले, ११ पोथी र पहिचान हुन नसकेको दुईसहित १९ वटा वयस्क बाघ रहेको नतिजा शुक्रबार निकुञ्ज प्रशासनले सार्वजनिक गरेको हो ।

attariya hospital

निकुञ्जमा जेठ ४ देखि २३ सम्म क्यामेरा ट्र्यापिङ विधिबाट बाघ र आहारा प्रजातिको अनुगमन गरिएको हो । गणनाका लागि निकुञ्जलाई ८९ ग्रिडमा विभाजन गरी प्रत्येकमा एक जोडी स्वचालित क्योमरा जडान गरिएको थियो । प्रत्येक ग्रिड २।२ वर्गकिलोमिटरका छन् । कम्तीमा १५ दिनसम्म फोटो खिच्दा ब्याट्री र मेमोरी स्पेस पुग्ने गरी क्यामेराहरू जडान भएका थिए ।

navjiwan hospital

‘अहिले सार्वजनिक भएको नतिजाले थोरै भए पनि उत्साहित बनाएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने, ‘लामो समयदेखि स्थिर रहेको बाघको संख्या थोरै भए पनि बढेको छ ।’ उनका अनुसार विगतका गणनामा भालेपोथीका अनुपात मिलेको थिएन । यस पटकको अुनगमनमा थोरै भए पनि भालेपोथीको अनुपात पनि मिलेको देखिन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिक सोसाइटी अफ लन्डन (जेडएसएल) को प्राविधिक सहयोगमा बाघ गणना गरिएको हो । बाघ गणनाका लागि निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम र जेडएसलका ३३ जना प्राविधिक खटिएका थिए । ‘कोरोना संक्रमण बढिरहेका बेला हामीले जोखिम मोल्दै अनुगमन सुरु गरेका थियौं,’ पुनले भने, ‘एकातिर नियमित वर्षाले निकुञ्जभित्र हिँडडुल गर्नै गाह्रो थियो, अर्कातिर निकुञ्जभित्रैका कर्मचारीलाई पनि एकअर्कासँग भेट गर्न गाह्रो थियो ।’

कठिन अवस्थामा गरिएको अनुगमनले थोरै भए पनि आशा जगाएको उनले बताए । आहारा प्रजातिको उपलब्धता र बासस्थानका हिसाबले शुक्लाफाँटा बाघका लागि आकर्षक बासस्थान मानिन्छ । सन २०१८ मा बाघ तथा आहारा प्रजातिको गणनामा यहाँ प्रतिवर्गकिलोमिटर ६८ बढी वन्यजन्तु भेटिने गरेको नतिजा सार्वजनिक भएको छ । त्यतिबेला निकुञ्जसँग मध्यवर्ती क्षेत्र र अन्य संरक्षित क्षेत्रमा पनि बाघको गणना गरिएको थियो ।

‘सुरुमा निकुञ्जलाई दुई ब्लकमा विभाजन गरी बाघको गतिविधि हुने क्षेत्र पहिचानपछि ग्रिडहरूमा क्यामेरा जडान गरिएको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यस पटक बर्खायाममा गणना भएकाले एउटै बाघ दोहोरिन पनि कम भएको छ ।’ उनले बर्खायाममा निश्चित क्षेत्रमा मात्रै बाघ विचरण गर्ने भएकाले छुट्ने सम्भावना पनि कम हुने बताए । (कान्तिपुरबाट)