धनगढी – कैलालीको चिसापानीमा एकै दिन २२ जनामा डेङ्गीका बिरामी फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३, चिसापानीमा एकै दिन डेङ्गीका २२ जना बिरामी फेला परेका हुन् ।
आज सञ्चालन गरिएको एक दिने निशुल्क डेङ्गी रोग परीक्षणमा शंकास्पद एक सय जनाको परीक्षणमा २२ जनामा डेङ्गी देखिएको लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन् । सोमध्ये १४ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख बिसीले बताइन् ।


अस्थायी कोभिड अस्पताल लम्कीचुहाका व्यवस्थापक प्रमुख तप्त भण्डारीले सो क्षेत्रका ३६ बढीलाई यस अघि संक्रमण देखिएको बताए । ‘केही सञ्चो भएर घर फर्किएका छन्, कोही उपचार गराइरहेका छन’ उनले भने, ‘डेङ्गीका बिरामीले अहिले अस्पताल भरिएको छ ।’
अस्पतालका इञ्चार्ज डाक्टर प्रकाश तिमिल्सैनाले भने, डेङ्गी देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । उनले अस्पतालमा भर्ना भएका बढी बिरामी चिसापानी क्षेत्रका रहेको बताए ।
हप्ता दिनयता चिसापानी डेङ्गीको ‘हटस्पट’ बनेपछि रोग न्यूनिकरण तथा नियन्त्रणको लागि लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने, वयश्यक लामखुट्टे मार्न बिषादी छर्किने काम शुरु गरीएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले बताए ।



















