धनगढी – साउन १५ गते तुईन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले अझै प्रतिवेदन तयार पार्न सकेको छैन । तिन पटक समितिको म्याद थपिएको भएपनि अहिले छानबिन समितिका सदस्य नै विदामा बसेकाले प्रतिवेदन लेखनमा ढिलाई भएको छ ।

यसैबिच समितिकी सदस्य ज्योत्स्ना भट्ट जोशी दिल्ली गएपछि बिभिन्न अटकल समेत गर्न थालिएको छ । तर, संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले भने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेकी जोशी व्यक्तिगत कारणले दिल्ली गएको बताएका छन । उनले जोशीका नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २/४ दिन लाग्ने खबर प्राप्त भएको बताए ।

यस्तै छानबिन समितिमा अर्का सदस्य डीआईजी उद्धव थापा पनि आफन्त वितेका कारण विदामा गएको गृहमन्त्री खाँणले बताएका छन । उनले जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् ।


















