काठमाडौं – नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । मंगलबार भोलिका लागि बोलाइएको बैठकमा माधवकुमार नेपाल समूहसँग गएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

भोलि ११ बजे बैठक बस्ने उनले जानकारी दिए । आजको छलफलपछि पार्टीभित्र देखिएको समस्या समाधान हुने उनले दाबी गरे । एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउनको लागि बैठक बोलाएको उनले बताए । माधव नेपालले नयाँ पार्टी दर्ता गरिसकेकाले फर्किने सम्भावना नरहेको पनि उनको भनाइ छ ।

नेता नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने सहमति भएको पनि उनले जानकारी दिए ।
ओलीले सहमति कार्यान्वयन नगरे ठूलो विद्रोह हुने नेताहरूले चेतावनी दिएका छन् । नेता नेपालको पार्टीलाई आधिकारिकता दिन बुधबार निर्वाचन आयोगले सनाखत गर्न बोलाएको छ । तर, नेता नेपाल पक्ष छाडेका नेताहरूको प्रस्तावलाई मूर्तरूप दिन ओली अनिच्छुक देखिएका छन् ।

















