अत्तरिया – दोहोरो कर उठाउन थालिएपछि आफूहरु मारमा परेको भन्दै कवाड व्यवसायीले बिरोध जनाएका छन । राज्यलाई १३ प्रतिशत राजश्व तिरेर पनि स्थानिय निकाय पिच्छे दोहोरो कर लिन लागिएको भन्दै उनीहरुले बिरोध जनाएका हुन । सरकारको स्वच्छता अभियानलाई सहयोेग पुग्ने गरी फोहरलाई मोहरमा बदल्ने काममा सहयोग गर्दा पनि राज्यबाट उल्टै करको मारमा पर्नु परेको कवाड व्यवसायी संघका प्रवक्ता दुर्गा कुमार पोखरेलले बताए ।
उनले संघिय सरकारलाई कवाड उठाए बाफत १३ प्रतिशत कर बुझाएर पनि बिभिन्न ठाउँमा मनोमानी तरिकाले दोहोरो कर उठाउँन थालिएको बताए । ‘स्थानिय तह पिच्छे फरक–फरक दरमा कर उठाउन थालिएको छ’ बुधबार अत्तरियामा पत्रकारहरु संगको भेटघाटमा उनले भने ‘एक स्थानिय तहमा कर तिरर पनि त्यहि कभाड दोस्रो ठाउँमा राखेर भण्डारण गर्दा पनि पुनः दोस्रो स्थानिय तहलाई पनि कर तिनु परेको छ ।’ उनले पहाडी जिल्लाबाट स्थानिय तहलाई कर तिरेर ल्याएको कवाडमा तराईका जिल्लामा भण्डारण गरेर अर्को जिल्लामा पठाउँदा पुन स्थानिय तहलाई कर तिर्नु पर्ने बाध्यता रहेको बताए ।

कभाड व्यवसायी जय बोहराले स्थानिय सरकारले कर लगाए पनि एक प्रदेश एक कर दर तोकिनु पर्ने बताए । उनले कञ्चनपुरको भिमदत्त नगरपालिकाले २ रुपैयाँ, कृष्णपुर नगरपालिकाले ३ रुपैयाँ, कैलालीको धनगढी उपमहानगरपालिकाले ४ रुपैयाँ र गोदावरी नगरपालिकाले ५ रुपैयाँ प्रतिकिलो फलामको कभाडमा कर लिने गरेको बताए ।

अत्तरियामा श्री केदार कवाड पसल एण्ड सप्लायर्स सञ्चालन गरेका बोहराले अन्य स्थानिय तहको तुलनामा गोदावरी नगरपालिकाले बढी कर उठाएकाले आफूहरु झन मारमा परेको बताए । उनले नगरपालिकाको ठेकेदारले अन्य ठाउँका स्थानिय तहमा कर तिरर ल्याएको कवाडमा पनि पुनः कर लिने गरेको बताए ।
‘मैले बझाङबाट स्थानिय तहलाई कर तिरेर कवाड ल्याएर आएको थिए’ उनले भने ‘त्यो कवाडलाई अत्तरियामा केहि दिन स्टोर गरेर बाहिर पठाउँदा पुनः नगरपालिकाको ठेकेदारले कर बुझाउन भन्छन ।’
उनले गोदावरी नगरपालिकाको करको दर धेरै भएकाले आफूहरु यो क्षेत्रबाट पलायन हुने अवस्था आएको बताए । ‘प्रतिकिलो फलाममा करको दर बढी भएकाले हामीले अन्य ठाउँका व्यवसायी संग प्रतिस्प्रधा गर्न सक्दैनै’ उनले भने ‘हामीले नगरपालिकालाई सरसफाई अभियानमा सहयोग पुगाएका छौ । तर, नगरपालिकाले हामीलाई नै पलायन गर्ने अवस्थामा पु¥याइरहेको छ ।’ स्थानिय सरकारले करको दर घटाएर प्रदेशभरी एक दर कायम गर्न आवश्यक रहेको उनले बताए ।
गोदावरी नगरपालिकामा कवाड कर उठाउने ठेक्का कञ्चन कल्सलट्याण्ट एण्ड कन्ट्याक्टर्स प्रालिले गर्दै आएको छ । नगरपालिकाले १५ लाख न्युनतम रकम राखेर बोलपत्र आव्हान गरेकोमा कञ्चन कल्सलट्याण्टले ६० लाख नगरपालिकालाई बुझाउने गरी ठेक्का पाएको हो । गत वर्ष कवाड संकलनबाट नगरपालिकाले १५ लाख आम्दानी गरेको थियो ।
नगरपालिकाको आन्तरिक लेखा शाखाका प्रमुख राजेन्द्र प्रशाद जोशीले कुनै कवाड पदार्थको मुख्य अन्य नगरपालिका भन्दा बढी भएपनि समग्रमा हेर्दा नगरपालिकाले कम रकम लिने गरेको बताए । उनले नगरपालिकाको नगरसभाबाटै नै कवाड वस्तुको कर तोकिएको बताए ।
व्यवसायीहरुले भने स्थानिय तहहरुले स्वईच्छिक, अवैज्ञानिक र अव्यवहारिक रुपमा कर लिन थालिएको भन्दै बिभिन्न जिल्लाहरुमा विरोध गर्दे आएका छन ।

















