धनगढी – माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा पूर्व मन्त्री पनि समेटिएका छन् । पार्टीको केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट पनि समेटिएका हुन ।
तर, मन्त्री पूर्णा जोशीले नवगठित नेकपा एमाले (समाजवादी) को केन्द्रीय सदस्यका बिषयमा अनभिज्ञता प्रकट गरेकी छिन् । ‘हाम्रो सल्लाह हुदैछ’ उनले भनिन्, ‘ म अहिले धनगढीमै छु यस बिषयमा म बोल्दैन ।’

केन्द्रीय समितिमा सुदूरपश्चिमका सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका हुन् । समितिमा सासंद बाहेक मदन कुमारी शाह (गरिमा), भानुभक्त जैशी र उर्वादत्त पन्त रहेका छन् ।

सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसद तत्काल नेपाल समूहले खोलेको नयाँ पार्टीमा गएका छैनन् ।
विगतमा माधव समूहमै रहेका नेकपा एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपक प्रकाश भट्ट तथा देउवालाई विश्वासको मत दिएका लक्ष्मीकुमारी चौधरी, विना बुढाथोकी लगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन् ।
प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन् । जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए । डोटीका आले र डडेल्धुराकी जैरुबाहेक अछामका भीम रावल, कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीकै झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए ।
तर, आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा नगएका हुन् । कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन् । समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन् ।
बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।
















