खाेज्नुहाेस

कञ्चनपुर भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

Image

कञ्चनपुर – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रू. एक करोड ७१ लाख ३५ हजार बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा रू. ३५ करोड ६७ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रू. ३७ करोड ३९ लाख २३ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ४ दशमलव ८० प्रतिशत बढी हो ।

attariya hospital

भन्सार अधिकृत प्रमानन्द जोशीका अनुसार संकलित राजस्वमध्ये भन्सारतर्फ रु १७ करोड ४६ लाख ९९ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १५ करोड ३२ लाख ६७ हजार, अन्तःशुल्कतर्फ रू. ८५ लाख ८६ हजार, निर्याततर्फ रू. एक लाख ८२ हजार, कृषि शुल्कतर्फ रू. दुई करोड ४४ लाख ६५ हजार र अन्य शीर्षकमा रू. एक करोड २७ लाख २४ हजार रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सो कार्यालयले लक्ष्यको तुलनामा ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो । सो अवधिमा रू. ४८ करोड ६८ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा रू. २६ करोड २८ लाख ९३ हजार मात्र संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

navjiwan hospital

भन्सार अधिकृत जोशीले भने, ‘अघिल्लो वर्ष कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा राजस्व संकलनको कार्य प्रभावित भएको थियो ।’ उनका अनुसार चालू आवमा कार्यालयले रू. ४२ करोड ७७ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । ‘वैशाखदेखि साउन महिनाको अवधिमै रू. सात करोड राजस्व उठेको छ,’ उनले भने, ‘यसै अनुपातमा राजस्व संकलन हुने हो भने लक्ष्यमा पुग्न कुनै कठिनाइ छैन ।’

सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि भन्सार कार्यालय हाताभित्रै बैंकको शाखा स्थापना गरिएको छ । भन्सार तिर्ने सामानको कर्मचारीले लाग्ने राजस्व निर्धारण गरेपछि सेवाग्राहीले बैंकमा गएर राजस्वबापतको रकम बुझाउने गरेका छन् । कोरोना संक्रमणको डर र थोरै जनशक्ति भएकाले राजस्व संकलनमा समस्या भइरहेको उनको भनाइ छ ।

भारततर्फ थोरै मात्र सामान निर्यात हुने गरेको छ । निर्यातको तुलनामा आयात हुने सामान अधिक रहने गरेको छ । भारतमा हस्तकलाका सामान, जडीबुटी, पिना, रिठोलगायत निर्यात हुने गरेको छ । आयात हुने सामानमा गुँद, चिनी, हार्डवेयर, विद्युत्, इलेक्ट्रोनिक, कपडा र खुद्रा सामान लगायत रहेका छन् ।

महाकाली नदीमाथिको पुलमा ठूलो गाडी सञ्चालन गर्न नदिइने गरेका कारण भारतबाट साइकल र मिनी ट्रकमा सामान ल्याउने र लैजाने कार्य हुँदै आएको छ । सुरक्षा निकायको सक्रियताका कारण सीमा क्षेत्रमा हुने तस्करीको कार्यमा भने निकै कमी आएको छ ।

रासस