खाेज्नुहाेस

पुल नबन्दा बझाङको साईपालबासी जोखिमपुर्ण यात्रा गर्न बाध्य

Image

बझाङ – ठेक्का सम्झौता भएको ६ वर्षसम्म पनि पुल नबन्दा बझाङको साईपाल गाउँपालिकाका स्थानिय जोखिमपुर्ण यात्रा गरी नदी वारपार गर्न बाध्य छन । गाउँपालिकाको इंगलद्वार नदीमा बन्ने झोलुंगे पुल सम्झौता भएको ६ वर्षसम्म पनि निर्माणको काम सुरु नहुँदा स्थानियहरुले सास्ती बेहोर्नु परेको हो ।

ठेक्का सम्झौता भएको पाँच वर्षपछि गतवर्ष भदौमा हेलिकप्टरबाट निर्माण सामग्री निर्माण स्थलसम्म पु¥याइए पनि निर्माणको काम सुरु नगर्दा समस्या भएको बताईएको छ ।

attariya hospital

झोलुंगे पुल निर्माणको लागि सम्पूर्ण सामानहरू निर्माण स्थलमा पु¥याएको ठेकेदार कम्पनी हरि निर्माण सेवा प्रालिले पुलको एकतर्फको पर्खालको आधा काम गरेर छोडेको छ । ‘निर्माण सामग्री ढुवानी भयो, अब पुल बन्ने भयो भनेर स्थानीय खुसी भएका थिए ।

अहिलेसम्म पनि काम अगाडि नबढाउँदा जोखिम उठाएरै नदी वारपार गर्नु परिरहेको छ,’ स्थानीय बासिन्दासमेत रहेका साइपाल गाउँपालिकाका प्राविधिक तिलक विकले भने, ‘अब त त्यहाँ पु¥याएको निर्माण सामग्री पनि काम नलाग्ने भइसक्यो होला ।’

उनले निर्माणका लागि भनेर त्यहाँ पु¥याइएको सिमेन्टसमेत काम नलाग्ने भइसकेकाले पुल निर्माणको काम अझै अनिश्चित हुने बताए । ‘उत्पादन भएको तीन महिनापछि प्रयोग भएन भने सिमेन्टको बलियोपना ५० प्रतिशतले कम हुन्छ,’ उनले भने, ‘एक वर्षसम्म जंगलमा राखेको सिमेन्ट अब काम नलाग्ने भइसक्यो होला ।’

navjiwan hospital

गत वर्षको भदौमा निर्माण सामग्री निर्माण स्थल पु¥याएको ठेकेदार कम्पनीका प्रमुख प्रकाशजंग शाहले गत वर्षको असोजभित्रै काम सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने बताएका थिए । तर शाहले निर्माणको जिम्मा दिएका व्यक्तिले रकम नपाएको भन्दै अधुरै छोडेर गएको र हालसम्म नर्फकेको स्थानीयले बताए ।

‘अब सामान आयो पुल बन्छ भनेर सबै खुसी भएका थियौं,’ साइपाल गाउँपालिका–४ का वडाध्यक्ष जैसिङ रोकायाले भने, ‘दुई÷चार दिन काम गरे जस्तो गरेर ठेकेदार भागिहाल्यो । हाम्रो दुःख उस्तै छन ।’ उनले साइपाल गाउँपालीका वडा नं ४ र ५ का स्थानीयको गोठ जाने बाटोमा पर्ने यो पुल नबन्दा काठको साँधुमा मानिस र गाईबस्तुले जोखिमपुर्ण तरिकाले वारपार गरिरहेको बताए ।

पुल निर्माण स्थल जिल्लाको अन्तिम मानवबस्ती साइपाल गाउँपालिकाको धुलीगाउँबाट झन्डै २० किलोमिटर उत्तरमा पर्छ । यो बाटो साइपाल गाउँपालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोरदोहोर गर्ने माध्यम हो । यही बाटो भएर वार्षिक हजारौंको संख्यामा यार्चा तथा जडिबुटी संकलकहरू र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू हिँड्ने गरेका छन ।

नदी ठूलो भएको र वारपारका लागि कुनै पनि विकल्प नभएका कारण स्थानीयले जोखिम मोलेर जंघार तर्ने वा काठको साँधु प्रयोग गरेका छन । पुल नभएका कारण यो खोला तर्ने क्रममा पाँच वर्षमा ७ जनाले ज्यान गुमाइसकेका छन ।

२०७३ मंसिरमा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडार परियोजनाले यहाँ पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । १ सय २० मिटर लम्बाइ भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।

‘दुई÷चार दिन काम गरे जस्तो गरेर ठेकेदार गायब छन । सामानहरू अलपत्र छ । अहिले त फोन गर्दा पनि उठाउँदैनन्,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने । यो नदी तर्ने क्रममा बर्सेनि मानिसहरूको ज्यान गइरहेकाले अब कुनै क्षति भए त्यसको जिम्मेवार ठेकेदार हुनुपर्ने उनले बताए ।