धनगढी – आफ्नै कामको सिलसिलामा मंगलबार काठमाडौंबाट आएका ५ जनाको समूहले धनगढी क्षेत्रमा रहेका कुनै पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्न पाए हुन्थ्यो भन्ने अभिरुचि राखे । चिनजानका साथीहरूसँग सोधपुछपछि धनगढी नजिकै शिवपुरी धाम र जोखर तालबाहेक धेरै संख्यामा घुमघामका गन्तव्य नरहेको थाहा पाए ।
धनगढीमा बग्रेल्ती संख्यामा चल्ने अटोरिक्सा समातेर उनीहरू शिवपुरी धामको अवलोकन गर्न पुगे । बजार छेवैमा रहेको शिवपुरी धामको मौलिक निर्माण आकर्षक छ । उनीहरूलाई पनि राम्रो लाग्यो । ‘मन्दिर मौलिक स्वरूपमा निर्माण भएको रहेछ,’ समूहमा रहेकी लक्ष्मी भट्टले भनिन्, ‘यति ठूलो शिवलिंग भएको मन्दिर पहिलो पटक देख्यौं ।’

मन्दिर क्षेत्रमा सरसफाइ नभएकामा भने उनीहरूलाई खिन्न लाग्यो । शिवपुरीको अवलोकनपछि अर्को अटोरिक्सामा चढेर करिब २० मिनेट दूरीमा रहेको जोखर ताल हेर्न गए उनीहरू । जोखर ताल पुग्दा सुनसानको वातावरण थियो । तालमा पानी कुनैकुनै ठाउँमा मात्र टल्किरहेको देखिन्थ्यो । तालको सबैतिर जलकुम्भीले ढाकेर हरियो चौरजस्तो देखिन्थ्यो ।
‘झट्ट हेर्दा त यो ताल हो कि हरियो चौर हो भन्नेजस्तो लाग्यो,’ विमल खड्काले भने, ‘नजिकै पुगेर नियालेपछि मात्र विशाल तालको क्षेत्रलाई जलकुम्भीले ढाकेको देख्यौं ।’
आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बन्न सक्ने धनगढी छेवैमा रहेको जोखर ताल यतिबेला जलकुम्भीले ढाकिएर कुरूप बनेको छ । पोहोर सरसफाइ गरेर डुंगा सयरको मनोरञ्जनसमेत लिन सकिने अवस्थामा रहेको यो ताल कुरूप भएपछि आकर्षणसमेत घटेको छ । गत वर्ष धनगढी उपमहानगरपालिकाको अगुवाइमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीयले तालमा फैलिएको जलकुम्भी हटाएका सरसफाइ गरेका थिए ।

विगतमा यस तालमा डुंगा सयर र ताल वरिपरिका वनस्पति पर्यटकका लागि मुख्य आकर्षण थिए । तालसँगै जोडिएको सालघारी पनि पर्यटकका लागि थप आकर्षक क्षेत्र हो । त्यसबेला ताल अवलोकन गर्न दैनिक ३ सय बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेको स्थानीय बासिन्दा बताउँछन ।
यो ताल ऐतिहासिक महत्वको पनि मानिन्छ । सयौं वर्षअघि ताल रहेको क्षेत्रमा मानव बस्ती थियो । पछि ताल बन्दा एक जोडीबाहेक सबै बासिन्दाको मृत्यु भयो । बाँचेका पुरुषको नाम जाख र महिलाको नाम जखनी थियो । यही जोडीको नामबाट जोखर तालको नाम रहन गएको किंवदन्ती पाइन्छ ।
धनगढी उपमहानगरपालिका–७ अन्तर्गत देवरियामा पर्ने यो ताल धनगढी बजारबाट करिब ४ किलोमिटरको दूरीमा छ । ताल क्षेत्रमा गर्मी मौसममा ताल र त्यस नजिकै रहेको वनस्पति उद्यानको चिसो हावा र जाडोमा तालको छेउछाउको पारिलो घाम ताप्न आनन्द महसुस हुने भएकाले जोखर ताल क्षेत्र धनगढीमा आकर्षक गन्तव्य रहँदै आएको थियो ।
जोखर ताल र वरिपरिको पर्यावरणीय सुन्दरताको अवलोकन गर्न आउनेहरूको संख्या बढ्न थालेपछि तीन वर्षअघि वनस्पति कार्यालयले उद्यानभित्र फूल रोप्ने र बिसौनी बनाएको थियो । वडा नम्बर ७ का वडाध्यक्ष शिवराम रानाका अनुसार विगतमा विभिन्न प्रजातिका माछा पाइने यो तालमा माछा मार्न भने रोक लगाएर सुधार योजना अनुसार काम भइरहेको छ ।
०७३ सम्म वनस्पति कार्यालयले स्थानीय बासिन्दालाई भोगचलन गर्न दिएको थियो । त्यसबेला महिला समुहले तालमा माछापालनका लागि ताल ठेक्कामा दिने समयमा तालको सरसफाइसमेत गराउँथे । उपमहानगरले जोखर ताललाई ब्यावसायिक रुपमा पर्यटकिय गन्तव्यका रूपमा विकास गरेर आम्दानीको स्रोत बनाउने जनाएको छ ।
‘साढे ५ करोडमा ठेक्का दिएर ताल सुधारको काम र वरिपरिको वातावरण आकर्षक बनाउने योजनाअनुसार काम भइरहेको छ,’ वडाध्यक्ष रानाले भने, ‘तालभित्र नयाँ माटो राख्ने योजना छ ।
वरिपरि पनि सुन्दर र आकर्षक पूर्वाधार निर्माण गर्ने योजना बनेको छ ।’ तालको क्षेत्रफल ११ बिघा रहेको उनले बताए । (कान्तिपुरबाट)
















