दार्चुला तुइन घटना अनुसन्धानमा भारतको ‘असहयोग’

 

काठमाडौं, दार्चुला – तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् ।

maya metro hospital

दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका–२, खाङदाङ (मालघाट) मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्ठा खुस्काउँदा उनी महाकालीमा खसेको स्थानीयको भनाइ छ । घटनाको दुई दिनपछि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको टोली साउन १९ बाटै खलंगालाई मुकाम बनाएर घटनाको प्रमाण संकलनमा जुटे पनि भारतीय पक्षले सहयोग नगरेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणले राष्ट्रिय सभामा १८ गते र प्रतिनिधिसभामा १९ गते दार्चुला घटनाबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । छानबिन समितिले स्थानीय र प्रत्यक्षदर्शीसँग कुराकानी तथा घटनास्थलको अनुगमन गरिरहेको छ । तर ठोस प्रमाण हात लागेको छैन । भारतीय प्रशासन घटनामा एसएसबीका जवान संलग्न रहेको आरोप पुष्टि नहुने भन्दै पन्छिएको छ । तुइनको लट्ठा खुस्काउने एसएसबीका जवान पहिचान गरी कारबाहीको दायरामा ल्याउन पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) को कार्यालयलाई नेपाली पक्षले आग्रह गरेको थियो ।

attariya hospital

बेपत्ताको खोजबिन गर्न घटनास्थल हुँदै महाकाली क्षेत्रका दार्चुला, बैतडी र कञ्चनपुर तथा त्यही आसपासको भारततर्फ ड्रोन उडाउने प्रयास पनि विफल भएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले महाकाली नदीपारि किनारै किनार ड्रोन उडाउन साउन २३ मा पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाइएको तर मंगलबार साँझसम्म कुनै जवाफ नआएको बताइन् ।

पत्र पठाएको भोलिपल्टै प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली खलंगा पुगेको थियो । महाकाली नदीपारि ड्रोन उडाउन भारतीय प्रशासनको अनुमति चाहिन्छ । भारतले अनुमति नदिएपछि प्राविधिक टोलीले नेपालतर्फको भूभागमा मात्रै ड्रोन उडाएर बेपत्ताको खोजबिन थालेको छ । बेपत्ता धामीको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दुई साता पुग्न लाग्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेकामा सरकार थप गम्भीर बनेको बताए । प्रतिवेदनको राय र सुझावका आधारमा बेपत्ताको परिवारका लागि राज्यका तर्फबाट राहत तथा संरक्षणका विषयमा उचित निर्णय लिइने पनि उनले जनाए ।

‘दार्चुला घटनालाई सरकारले गम्भीर रूपमा लिएर नै सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो,’ पोखरेलले कान्तिपुरसँग भने, ‘समिति अहिले पनि फिल्डमै छ, प्रमाण संकलनको काम भइरहेकै छ ।’ उनका अनुसार घटनाबारे सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धित संयन्त्रसँग पनि छलफल र परामर्श गर्न निर्देशन दिइएको छ ।

धामी महाकालीमा बेपत्ता भएकै भोलिपल्ट साउन १६ मा दार्चुला प्रशासनले अनुसन्धानका लागि पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरूपलाई पत्र पठाएको थियो । त्यही दिन घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै बेपत्ता व्यक्तिको परिवार र स्थानीयले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको भोलिपल्ट गृहले सहसचिव गौतमको नेतृत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सम्मिलित छानबिन समिति गठन गरेको थियो ।

समितिले साउन १९ मा खलंगा पुगेर काम थालेको थियो । समितिले साउन २१ मा तुइन भएको भारततर्फको ठाउँ गस्कुको निरीक्षण गरेको थियो । साउन २२ मा नेपालतर्फ मालाघाट पुगेको समितिले साउन २३ र २४ मा खलंगामा बसेर समीक्षा गरेको थियो । ‘घटनाको छानबिन जारी छ, प्रमाण संकलनको काम अझै सकिएको छैन,’ दार्चुलाकी सहायक प्रजिअ भट्टले भनिन् ।

बेपत्ता धामीका परिवारले राज्यबाट उचित राहत र संरक्षण आवश्यक रहेको जनाएको छ । छानबिन समितिसमक्ष पनि यसबारे कुरा राखिएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए ।

दार्चुला घटना : कहिले के भयो ?

साउन १५ : जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता

साउन १६ : एसएसबीले ‘तुइन काटेको’ घटनामा अनुसन्धान गर्न पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरुपलाई दार्चुला प्रशासनको पत्र

साउन १६ : घटनाको छानबिन गरी संलग्नलाई कारबाही माग गर्दै धामीका परिवारबाट प्रशासनलाई ज्ञापनपत्र

साउन १७ : गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन

साउन १८ : गृहमन्त्री बालकृष्ण खाँणद्वारा राष्ट्रिय सभामा घटनाबारे जानकारी

साउन १९ : गृहमन्त्री बालकृष्ण खाँणद्वारा प्रतिनिधिसभामा घटनाबारे जानकारी

साउन १९ : छानबिन समिति सदरमुकाम खलंगामा

साउन २० : घटनाबारे छलफल

साउन २१ : तुइन भएको भारत तर्फको घटनास्थल गस्कुको निरीक्षण

साउन २२ : नेपाल तर्फको घटनास्थल मालाघाटको निरीक्षण

साउन २३ : बेपत्ताको खोजी गर्न घटनास्थल हुदै महाकाली नदीमा ड्रोन उडाउन अनुमति माग्दै भारत पिथौरागढ प्रशासनलाई दार्चुला प्रशासनबाट पत्र, भारतीय प्रशासनबाट नेपालको आग्रह अटेर

साउन २३ र २४ : छानबिन समिति खलंगामा बसेर घटनाको समीक्षा

साउन २४ : ड्रोनसहित प्रहरी प्रधान कार्यालयबाट गएको प्राविधिक टोली खलंगामा

साउन २५ : छानबिन समिति बैतडी सदरमुकाम प्रस्थान

साउन २५ : छानबिन समितिको म्याद ७ दिन थप

– यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.