खाेज्नुहाेस

प्रविधि पहुँचको अभावले गुम्सिएको दुर्गम जिन्दगी

Image

रमेश बहादुर सिँह/बझाङ – विश्वका ठुला ठुला देशहरु आधुनिक प्रविधिकै कारण विकाशको विन्दुमा पुगिसकेका छन । नेपालले पनि प्रविधिको क्षेत्रमा विस्तारै आफ्नो पाईला चालिरहेको छ ।

२१औ शताब्दीमा सामान्य प्रविधिको पहुँचमा नपुगेका नेपालका पनि केही ठाउँहरु छन भन्दा पत्यार नलाग्न सक्छ । तर सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बझाङका केही स्थानमा हालसम्म प्रविधिको सामान्य पहुँच पनि पुग्न सकेको छैन ।

attariya hospital

जिल्लाका जयपृथ्वी नगरपालिका, साईपाल गाउँपालिका लगायतका स्थानिय तहका केही स्थानमा हालसम्म सञ्चार तथा विद्युतको सामान्य सुविद्या सम्म पुग्न सकेको छैन ।

कोभिड–१९ को असर देखिनेबित्तिकै बन्द भएका विद्यालय हालसम्म खुलेका छैनन । प्रविधिको पहूँच पुगेका विद्यार्थीहरुले अनलाईनमार्फत आफ्नो शिक्षा आर्जन गरिरहेका छन तर विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीहरु भने पाठ्यपुस्तक झोलामा थन्क्याएर दैनिक घरायसी जिवन जिउन बाध्य छन । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् ।

जयपृथ्वी नगरपालिका – १ की सबिता सिंह अहिले पशुचौपायाको हेरालुका रूपमा दैनिक काम गरिरहेकी छन । उनलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ ।

हातमा मोबाइल भएपनि सञ्चारको सुविधा नहुँदा उनले कोरोना अवधीभर शिक्षा लिन पाएकी छैनन । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उनको दिन बितिरहेको छ ।

अभिभावक गोठमा आएको दिन सिंहलाई दैनिक आवश्यक खाद्यान्न ढुवानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि छ । उनले भनीन, ‘किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।’

कोरोनाको महामारीका कारण परिस्थिति अझै साम्य भैसकेको अवस्था छैन । महामारीको तेस्रो लहर पनि तत्कालै आउन सक्ने स्वास्थ्यविद्हरुले बताउदै आएका छन । त्यसकारण विभिन्न स्थानियतहहरुले केही खुुकुलो पारेर पनि निषेधाज्ञालाई जारी नै राखेका छन । यस्तो अवस्थामा विद्यार्थीहरुले विद्यालयमा अध्यापन गर्न जाने कल्पना गर्न सकिएको छैन ।

navjiwan hospital

कोरोना महामारी अगाडी दैनिक रुपमा झोला बोकेर विद्यालय जाने र साँझ फर्किने सिँहलाई महामारीका कारण आफुले बोक्ने झोलासँगको भेट कहिले हुने भन्ने थाहाँ छैन ।

उनीजस्तै अर्की निसला कुमारी सिंह पनि चौडान लेकमा छन । उनलाई गोठको सुरक्षादेखि पशुचौपायाकै चिन्ता छ । विद्यालय सञ्चालन भए नभएको बारेमा जानकारीसम्म उनलाई छैन । चौडान क्षेत्रमा फोन नलाग्ने भएकाले कैलाशको बाटो हुँदै गोर्खाली जाने र गोठमा बास माग्दै आएर बसेको पाहुनाले दिएको जानकारी नै उनका लागि नयाँ सन्देश हुन्छ ।

दैनिक वर्षे झरी, जुकाको टोकाइ, गाईभैँसी, घोडाको हेरालुको कामले गर्दा अरु कुरा सोच्ने निर्मलालाई फुर्सद छैन । उमेरले मात्र १४ वर्षकी उनलाई घरको सबै काम गर्नुपर्ने बाध्यता छ । कैलाश क्षेत्रमा भारी मात्रामा फुलेका फूलहरुसँग रम्दै, जङ्गलबाट सङ्कलन गरी ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउ खाँदै दैनिकि बिताईरहेकी उनको भविष्य कता जाँदैछ, उनलाई नै अत्तोपत्तो छैन ।

उनकै उमेरका विद्यार्थी इन्टरनेटको माध्यमले दैनिक नयाँ–नयाँ कुरा पढिरहेका छन् । देश, विदेशका घटनाका विषयमा जानकार छन् । तर भौगोलिक विकटताका कारण सञ्चारको उचित सुविधा नहुँदा कैलाश गाउँमा रहेका विद्यार्थीले कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायाको स्याहार नै उनीहरुको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ ।

अर्थावस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थी चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको नारायण उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक एन बहादुर सिंहले बताए । सिंह आफैँ पनि इन्टरनेटको माध्यमबाट केही सुचना लिनु परे विद्यालय तथा नगरपालिकाको केन्द्र चैनपुरसम्म पुग्ने गरेका छन् ।

कैलाशलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारामदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयं विद्यार्थीलाई नै थाहा हँुदैन । जयपृथ्वी नगरपालिकाका मात्रै नभई साइपाल गाउँपालिकाका अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै रहेको छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता साईपालको रहेको छ ।

अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणको काममा मजदुरका रूपमा विद्यार्थी काम गर्न बाध्य भएको साईपाल गाउपालिकाका स्थानिय बसन्त बोहराले बताए । ‘विद्यालय बन्द छन्, सरहरु कहाँ हुनुहुन्छ थाहा छैन’ उनले भने । आर्थिकरूपमा सवल भएको परिवारका विद्यार्थी ठूला शहरमा गएर विभिन्न माध्यमबाट शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीको अवस्था बिजोग बन्दै गएको छ ।

कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन शुरु गरे पनि विद्यार्थीलाई लगाईएको छैन । ‘शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरु कसरी सुरक्षित हुन्छन् ?’ खतड छान्ना गाउपालिकाका अम्मर सिहले प्रश्न गरे ‘हामीले हाम्रो छोराछोरीलाई विद्यालय पठाउँदा कसरी पठाउने ।’

शिक्षक मात्र बाँचेर विद्यार्थीहरु मरुन भन्ने नीति लिएको हो कि जस्तो लागेको उनले बताए । विद्यालय बन्द हुँदा रोजगारीका लागी केही विद्यार्थीहरु घर छाडेर भारतसमेत पुगिसकेको पाइएको छ । कोरोनाका कारण विद्यालयहरु बन्द हुँदा घर बस्नु भन्दा २ पैसा आम्दानी हुने र दशैँ, तिहारको खर्च टार्ने लक्ष्यका साथ धेरै विद्यार्थी भारततिर लागेका बताईएको छ ।

मानिसको जीवनशैली र जीवनस्तर बदल्नका लागि प्रविधिको पहुँच अनिवार्य रहेको छ । प्रविधिको पहुँचका लागी आर्थिकरूपमा सवल हुन जरुरी छ । बिहान र बेलुकी के खाने, के लगाउने भन्ने चिन्ताले रुमलिने दुर्गमका विपन्नहरुको परिवेशबाट हुर्केको जीवनशैलीबाट संसार थाहा पाउने सपना पूरा गर्न राज्यले ठूलो लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।