बझाङको दहबगरमा २ करोडभन्दा बढीको आलु
बझाङ – बझाङमा २ करोडभन्दा बढी मूल्यको आलु उत्पादन भएको छ । जिल्लाको बुंगल नगरपालिकास्थित दहबगरमा करिब २ करोड भन्दा बढीको आलु उत्पादन भएको हो ।
उच्च हिमाली भेगमा पर्ने दहबगरमा फलेको आलुको खपत जिल्लाभित्र मात्रै नभएर कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा पनि हुन थालेको छ । तराईमा दहबगरको आलुको माग र मूल्य दुवै उच्च रहेको किसानहरूले बताएका छन ।
हाल बुंगल नगरपालिका १ र २ मा पर्ने साविक दहबगर गाविसका गोइचन, रैसल्ली, मजिउन, बस्ती, बमौर, सतिवन, कचाली, काँडा, काँटै गिरौं, मलेरालगायत गाउँका ६ सय १९ परिवारले व्यावसायिक आलु खेती गरेका छन । दुइ वर्षअघिदेखि सुरु गरिएको आलु खेतीबाट प्रतिपरिवार न्यूनतम ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्ने किसानहरू बताउँछन ।
‘चार÷पाँच क्विन्टल आलु नफलाउने परिवार त कुनै गाउँमा पनि छैनन् होला,’ किसान करसिंह जाग्रीले भने, ‘बढी जग्गा हुने र मिहिनेत गर्नेहरूले २५÷३० क्विन्टलभन्दा बढी पनि फलाएका छन ।’ उनले यहाँ उत्पादित आलुले बजार पाउन थालेपछि कृषकहरू आलु खेतीतर्फ आकर्षित हुन थालेको बताए ।
यहाँ उत्पादित आलु ठूलो मात्रामा स्थानीयस्तरमा नै खपत हुने गरेको र बचेको बिक्री गरेर स्थानीयले राम्रो आम्दानी लिइरहेको स्थानीयको भनाइ छ । ‘बर्खामा यहाँका सबै परिवारले एक छाक आलुकै परिकारको खाना खाने गरेका छन्’ रैसल्लीकी किसान सुनिता देवीजाग्रीले भनिन्, ‘आफुले खाएर बचेको आलुले घर खर्च चलाउँछौं । धेरै जग्गामा खेती गर्नेहरूले राम्रै आम्दानी पनि गरेका छन ।’ उनले गाउँमा उत्पादित आलु प्रतिकिलो २५ रुपैयाँका दरले गाउँकै बजारमा खपत हुने गरेको बताइन ।
उच्च हिमाली क्षेत्रको चिसो वातावरणमा फलेको आलु स्वादिलो हुने र कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगरिएको हुनाले स्वास्थ्यलाई पनि फाइदा हुने भएकोले यहाँ उत्पादित आलुको माग र मूल्य कैलाली कञ्चनपुरलगायत तराईका जिल्लाहरूमा बढी भएको स्थानीयको भनाइ छ ।
‘यहाँको माटोमा फलेको आलु उसै पनि स्वादिलो र मीठो हुन्छ, त्यसैमा रासायनिक मल र विषादी नहालेको भनेपछि तराईतिरका मान्छेले बढी रुचाउने रहेछन्’ दहबगर कृषि नमुना गाउँका अध्यक्ष कृपा जाग्रीले भने ‘तराईका व्यापारीहरूले फोनबाट सम्पर्क गरेर ट्रक पठाइदिन्छन । यहाँका किसानबाट संकलन गरेर हामीले गाडीमा लोड गरेर पठाइदिन्छौ ।’ उनले हालसम्म ५ ट्रक आलु कैलाली र कञ्चनपुर पठाइएको र थप पठाउने तयारी भैरहेको बताए ।
व्यावसायिक रूपमा नभए पनि पहिलादेखि नै आलुखेती भैरहेको यो गाउँमा आलु खेतीलाई व्यावसायिक बनाउनका लागि कृषि ज्ञान केन्द्र बझाङले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी नमुना गाउँ कार्यक्रमअन्तर्गत बजारीकरण र आलु भण्डारणमा सहयोग गरेको छ ।
परियोजनाले आलु भण्डारणका लागि गाउँमै दुईवटा रस्टिक स्टोर (आलु नकुहिने गरी भण्डारण गर्न मिल्ने घर) निर्माण गरिदिएको छ । यस्तै आलुखेतीसम्बन्धी तालिम, आलु प्याकिङ गर्ने बोरा, सिँचाइका लागि पाइप पनि परियोजनाले उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका सहजकर्ता हिक्मत धामीले बताए ।
धामीले गाउँमा बनाइएका रस्टिक स्टोरमा ठाउँको अभाव भएको र लामो समयसम्म आलु भण्डारण गर्न नमिल्ने भएकाले बीउ आलु भण्डारणका लागि कैलालीको पहलमानपुरस्थित कोल्ड स्टोरमा आलु पठाउन थालिएको बताए ।
‘१ हजार २ सय क्विन्टल आलु बीउका लागि कोल्ड स्टोरमा पठाउने काम भइरहेको छ,’ उनले भने, ‘कोल्ड स्टोरको भाडा र त्यहाँसम्म आलु ढुवानी भाडा ज्ञान केन्द्रले नै तिरिदिएको छ ।’
कोल्ड स्टोरमा राखिएको बीउ आलुको मूल्य अहिलेको बजार मूल्यभन्दा चार/पाँच गुणा बढी हुने उनले बताए । जिल्लामै कोल्ड स्टोरको व्यवस्था भए आलु भण्डारणमा सहज हुने र महँगो भाडा तिररे अरू जिल्ला पठाएको आलुभन्दा सस्तो मूल्यमा बजारमा बिक्री गर्न सकिने उनको भनाइ छ ।
यस वर्ष दहबगरमा मात्रै नभएर जिल्लाभरि नै आलुको उत्पादन राम्रो रहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । यो वर्ष जिल्लाभरिमा बर्से आलु मात्रै ७ सय देखि ८ सय मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।