धनगढी – दार्चुला घटनाका बिषयमा प्रतिनिधिसभा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारले दार्चुला घटनालाई गम्भिर रुपमा नलिएको भन्दै चर्को आलोचना गरेका हुन ।
सांसदहरुले भारतीय एसएसबीको संलग्नताबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए । सत्तारुढ कांग्रेसका सांसद गगन थापाले भारतीय सीमा सुरक्षा बल एसएसबीले जयसिंह धामी घटनामा संलग्नता छैन भन्ने जवाफ दिएकोबारे सञ्चार माध्यममा आएका कुराबारे सरकारको जवाफ मागेका छन् ।

थापाले भने, ‘जयसिंह धामीको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको जिकीर ग¥यो भन्ने मिडियामा आएको छ सत्य के हो ?’ भारतीय पक्षले आधिकारिक रूपमा आफ्नो संलग्नता नरहेको भनेको हो ? यदी यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला ?’
एमाले सांसद शान्ता चौधरीले दार्चुला घटनामा गृहमन्त्रीको हलुका र गैरजिम्मेबार अभिव्यक्ति आएको बताइन् । ‘प्रत्यक्षदर्शीले भनेपछि त्यही प्रमाण होइन र ? उनले भनिन्, ‘भारतीय अत्याचार सहेर बस्दैनौँ ।’
अर्का सांसद गणेश ठगुन्नाले पनि प्रत्यक्षदर्शीले भनेपछि सरकारलाई किन विश्वास भएन भन्दै प्रश्न गरे । उनले सीमामा एक नेपालीको खुलेआम हत्या भएपनि वर्तमान सरकारले भारतीय राजदुतलाई बोलाएर औपचारीक रुपमा बिरोध जनाउँनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविन समिति गठनको नाटक गरि घटनालाई साम्य पार्न खोजिएको बताए ।
‘स्थानियले हारगुहार गर्दा पनि एसएसबीका जवानहरुले तार काट्दा अमानविय र दुःखद घटना घटेको छ’ उनले भने ‘युद्धरत राष्ट्रका बिचमा पनि एउटा न्यूनतम मर्यादा हुन्छ । अप्ठारोमा ज्यु ज्यान जोगाउने मानविय धर्म हुन्छ । तर, खुलेआम एक निर्दोस नेपालीको ज्यान गएको छ । यो अत्यन्तै दुःखद घटना हो ।’
उनले भारतीय सीमा सुरुक्षा बल (एसएसबी) ले तुईन काट्दा जयसिह धामीको मृत्यु भएको बताए । उनले सरकारले मृतकका परिवारलाई उचित क्षतिपुती दिन पनि सरकार संग माग गरेका छन ।

कांग्रेस सांसद देवेन्द्र राज कँडेलले दार्चुला घटनामा नेपाल र भारतका संयुक्त खोजबिन टोलि किन बनाइएन भन्दै प्रश्न गरे ।
कांग्रेसकै सांसद दिलेन्द्र बडूले दार्चुला घटनाबारे नेपाल र भारत दुवैतर्फबाट छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘प्रत्यक्षदर्शीसँग सम्पर्क भयो कि भएन ? पक्ष विपक्ष भन्दा पनि सत्यतथ्य स्थापित गर्नुपर्छ ।’
कांग्रेसकै सांसद पुष्पा भुसालले पूर्व प्रधानमन्त्री ओलीले दुई वर्षमा तुइन विस्थापित गर्छु भनेर तीन वर्षसम्म नगर्दा दार्चुला घटना भएको बताइन् ।
दार्चुला घटनाबारे कांग्रेसकै सांसद डिला संग्रौलाले सोधिन्, ‘सत्य तथ्य के हो? कुटनीतिक र राजनीतिक रुपमा छानबिन गरिनुपर्छ ।’
सांसद पदम गिरीले भारतीय सुरक्षा फौजले ज्यादति गरेको बताए । ‘सरकार घटनास्थल पुग्न सकेको छैन । सत्यतथ्य बाहिर ल्याउन छाडेर सरकारले षड्यन्त्र गरेको छ’, उनले भने ।
सांसद प्रेम सुवालले यो घटनाबारे प्रधानमन्त्री तहमा किन कुरा भएन भन्दै प्रश्न गरेका थिए । सांसद विशाल भट्टराईले यस्ता घटनाबारे तत्कालको समाधान नभइ दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । उनले तुइन बिस्थापनमा ओलीले गफ होइन काम गरेका दाबी गरे ।
प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भने तुइनबाट खसेर महाकाली नदीमा नेपाली युवक जयसिंह धामी बेपक्ता भएको घटनामा सरकारले सत्य तथ्य सार्वजनिक गर्ने बताएका छन् ।
गृहमन्त्री खाँणले छानबिन समितिले गर्ने सिफारिस र प्रतिवेदनका आधारमा सरकारले काम गर्ने बताएका हुन् ।
‘सत्य र तथ्यका आधारमा प्रतिवेदन बन्छ । त्यसलाई कार्यान्वयन गर्छ । आफ्नो अडान लिएर सरकार अघि बढ्छ’, गृहमन्त्री खाँणले भने, ‘घटनास्थलमै पुगेर सत्यतथ्य पत्ता लगाइनेछ । त्यसलाई सरकारले अघि बढाउने छ ।’
गत साउन १५ मा तुइन तर्ने क्रममा दार्चुलास्थित व्यास २ का ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । एसएसबीले तुइनको डोरी काट्दा उनी महाकालीमा बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ ।

















