खाेज्नुहाेस

तुइन तर्दा हरेक वर्ष ज्यान गुमाउँछन् व्यासबासी

Image

धनगढी – महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामीको अवस्था चार दिनसम्म पनि अज्ञात छ । गएको शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिए पछि जयसिंह नदीमा खसेका थिए ।

दुई साताअघि पनि सोही वडाका २६ वर्षिय धनसिंह धामी मालघाटमै तुइन तर्ने क्रममा महाकाली नदीमा खसेका थिए । तुइन सञ्चालक कल्याणसिंह धामीले भने, ‘उनी ताम्लो नबाँधी तुइनबाट बस्तीमा आउँदै थिए । त्यही लापरबाहीका कारण नदीमा खसे तर, पौडी खेल्न आउने भएकाले बचे ।’

attariya hospital

पछिल्लो समय दैनिक रुपमै एसएसबीले तुइन हटाउँदै आएको कल्याणसिंहले बताए । वडा नम्बर २ स्थित मालघाटमा तुइन सञ्चालन गरिरहेका धामीले भने, ‘मेरो घाटमा सञ्चालन भएको तुइनमा भारतीय पक्षले डोरी काट्दा मानिस बेपत्ता नै भएको चाहिँ यो पहिलो घटना हो ।’
भारतीय पक्षले धार्चुला–लिपुलेक सडक एकलौटी रुपमा निर्माण गर्न लागेपछि सो वडामा गस्ती बढेको छ ।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले हरेक वर्ष तुइन तर्ने क्रममा एक जनाले ज्यान गुमाउनु परेको बताए । ‘यहाँ तुइनको सहाराले नेपालका अन्य जिल्ला प्रवेश गर्नुपर्ने बाध्यता छ । २०५० सालदेखि हालसम्मको तथ्यांक निकाल्दा तुइनका कारण २६ जनाको मृत्यु भएको छ ।’

वडाध्यक्ष बुढाथोकीले भने, ‘भारतीय पक्षले गस्ती बढाएपछि चार वर्षमा चार जनाले ज्यान गुमाएका छन् । यो मेरो वडाको मात्र तथ्यांक हो । वडा नम्बर ४ मा पनि समस्या यस्तै छ ।’

बेपत्ता जयसिंहका भाइ नरेन्द्र धामीले एसएसबीको ज्यादती धेरै पहिलेदेखि नै नेपालीले भोग्दै आएको बताए । ‘सो बाटो भएर नदी तर्नुपर्ने हाम्रो बाध्यता छ । एसएसबीले नेपालीप्रति अमानवीय व्यवहार देखाउँदै आएको छ । हामी त्यो सहेर जोखिम मोल्दै तुइन तर्ने गरेका छौं । अहिले त निर्दोष व्यक्तिले बाटो हिँडेकै कारण ज्यान गुमाउनपर्ने अवस्था आयो ।’

navjiwan hospital

एक वर्षमै बनाउने बचन, अझै अधुरै

भारतको गँस्कु र ब्याँस गाउँपालिकाको माल, भारतको गा्रम सोसा र ब्याँस गाउँपालिकाको मलघट्टे, भारतको एलागाड र ब्याँस गाउँपालिकाको बडुगाउँ पुल निर्माणका लागि नेपाल र भारतबीच १७ डिसेम्बर २०१८ मा सहमति भएको हो ।

सहमति भएको तीन वर्ष नाघि सक्दा पनि अहिलेसम्म मानिसले सो पुलबाट यात्रा गरेर नेपाल आउन पाएका छैनन । वडा अध्यक्ष बुढाथोकीले भने, ‘ठेकेदारले एक वर्षमै बनाउँछु भनेको हो तर, अहिलेसम्म पुरा भएको छैन । दुई ठाउँको पुल अधुरै छ । उसो त भारतीय पक्षले पुल निर्माण गर्ने क्रममा अवरोध गरेको छैन । तर, पुलको काम सञ्चालन नहुदा तुईन हटाउने गरेको छ ।’

सरकारको तुईन विस्तापन कार्यक्रम अन्तर्गत ब्याँस क्षेत्रमा तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने सहमति अनुसार सो क्षेत्रमा योजना अघि बढी शिलन्यास भएको थियो ।

नेपाल तर्फ ब्याँस गाउँपालिका वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर ६ बडूगाउँमा २०७६ कार्तिक महिनामा पुलहरुको शिलान्यास समेत गरियो ।

त्यही वर्ष शिलान्यास भएको बडूगाउँ–कालागाड जोड्ने पुल निर्माण सम्पन्न भई संचालनमा ल्याउने तयारी छ । तर, सँगै शिलान्यास भएका पुलहरुको निर्माण कार्य ठेकेदारको लापरवाहीका कारण अगाडी बढ्न सकेको छैन् । उक्त पुल निर्माणको ठेक्का धन बहादुर कुँवरले पाएका छन् ।

नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई शिलान्यास समेत भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुईनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय नरेन्द्र सिंह धामीको गुनासो छ । नेपालपट्टी सहज बाटोघाटो नहुदा ब्याँस क्षेत्रका बासिन्दाहरुले खलंगा आउनका लागि भारतको बाटो हुदै महाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ ।