अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालीत आपतकालीन मेरो हजार अभियानको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
अत्तरियामा रहेको थ्रिडिभिएल क्रियशनले सञ्चालनमा ल्याएको उक्त अभियानको बिहिबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरिएको हो ।

सम्मेलनमा क्रियशनका कोषाध्यक्ष क्षितिज साउँदले अभियानको आयव्यय विवरण सार्वजनिक गरेका थिए । बैसाख ३० गतेदेखि सुरु भएको उक्त अभियानमा विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगले रु. २ लाख ९७ हजार ८ सय रकम संकलन भएको कोषाध्यक्ष साउँदले बताए ।
उनले अभियानमा हालसम्म १२५ जना सहयोगीदाताहरूले सहयोग गरेको बताए । अभियानमा संकलित रकममध्ये विभिन्न शिर्षकमा जम्मा रु. २ लाख ४५ हजार २ सय २० रुपैया खर्च भएको साउँदले बताए ।
उनले संकलित रकममध्ये राहतमा जम्मा रु. १ लाख ४९ हजार ५ सय २०, स्वास्थ्य सामाग्रीहरूमा रु. १० हजार ५ सय १०, पौष्टिक आहारमा रू. ४५ हजार ६ सय ९०, पीडितहरुलाई सहयोग रु. २७ हजार ५ सय, मसलन्दमा रु. ८ हजार र संस्थाको यातायातमा रु. ४ हजार खर्च भएको बताए । उनले खर्च कटाएर बाँकी रहेको रु. ५२ हजार ५ सय ८० रुपैया भने आपतकालीन कोषमा जम्मा रहेको बताए ।
संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्व आयोजित कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार समिति संयोजक डा. लक्ष्मिराज पाठक रहेका थिए भने विशिष्ठ अतिथिमा संस्थाका संरक्षक एवम् दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर पाल रहेका थिए ।

कार्यक्रममा बोल्दै डा. पाठकले समाज सेवा गर्ने कार्य गाह्रो भएको बताए । युवाहरुले समाज सेवा गर्नुपर्छ भन्ने उद्देश्यले थालिएको अभियानले सार्थकता पाउदै गएको बताउदै उनले समाज सेवामा युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।
उनले कोरोना महामारीको तेस्रो भेरियन्टलाई सुरुवात देखी नै रोक्न विभिन्न स्वास्थ्य सामग्रीको वितरण गर्नुका साथै स्थानियमा जनचेतना जनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डम्बर पालले आपतकालीन रुपमा सुरु गरिएको यस अभियानले असहायहरुलाई सहारा दिएको बताए । उनले युवा टिमले समाज विकाशका लागी थालेको अग्रसरता देखेर खुसी लागेको बताए ।
‘कोरोना महामारीका मानिसहरु घरबाहीर निस्कन पनि डराएको अवस्था थियो’ उनले भने ‘त्यस्तो महामारीको अवस्थामा पनि ज्यानको पर्वाह नगरी, घरपरिवारको कुरा नसुनी समस्यामा परेका कोरोना पिडितहरुको सेवाका लागी लागेका युवाहरुलाई देख्दा मन हर्सित भएको छ ।’ उनले समाज विकाशका लागी युवाहरु उठ्न जरुरी रहेको बताए ।
कोरोनाका कारण जारी निषेधाज्ञाले समस्यामा परेका वर्गलाई सहयोग गर्न अभियान थालिएको अभियान्ता थ्रिडिभिएल क्रियशनका अध्यक्ष दिपक ओझाले बताए ।
उनले महामारीको समयमा अभियानबाट संकलित रकमले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक हजार भन्दा बढी परिवारलाई राहत वितण गरिएको बताए । उनले अभियानले दैनिक छाक टार्ने समस्यामा रहेका परिवार, कोरोना संक्रमित तथा अन्य विभिन्न असहाय व्यक्तिहरुलाई सहयोग गरिएको बताए । अभियान निरन्तर जारी रहने समेत उनले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार तपराज ओझा सहित संस्थाका अन्य पदाधिकारी एवम् पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव एल आर ओझाले गरेका थिए ।


















