अत्तरिया – सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घटनामा परी आर्थिक बर्ष २०७७/०७८ मा १७ पशु चौपाया मरेका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा १ पशुचौपाया घाइते भएका छन ।
पछिल्लो समय सडकमा पशुचौपाया छाड्ने क्रम पुनः बढेपछि पशुचौपाया मर्ने क्रम पनि बढेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ७ पशु चौपाया मरेका थिए भने ३ पशुचौपाया घाइते भएका थिए । बढी जसो तराईका जिल्ला कैलाली– कञ्चनपुरका राजमार्गहरुमा पशु चौपायाको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।


छाडा पशु चौपाया व्यवस्थापनका लागि कैलाली–कञ्चनपुरका स्थानिय तहहरुले लाखौ रकम खर्च गरेका भएपनि छाडा पशुचौपायको समस्या भने ज्युका त्यु छ ।

सडकमा छाडिएका छाडा पशुचौपायाका कारण सवारी दुर्घटना बढ्दा मानिसहरुले समेत ज्यान गुमाउनु परेको छ । बढी जसो रातीको समयमा सडकमा छाडिएका छाडा पशु चौपायका कारण दुर्घटनाको जोखिम बढेको अत्तरियाका स्थानिय रमेश विकले बताए । ‘सडकमा लामबन्द रुपले छाडा गाईगोरु सुतेका हुन्छन’ उनले भने ‘यस्तो समयमा गाईगोरु नदेखिने भएकाले ठोक्किने डर हुन्छ ।’
पछिल्लो समय अत्तरिया बजार क्षेत्रमा पनि छाडा पशु चौपायाको संख्या बढ्दै गएको छ । यसको नियन्त्रणका लागि गोदावरी नगरपालिकाले पनि बर्षेनी लाखौ रकम खर्च गर्दै आएको छ । चालु आर्थिक बर्षका लागि पनि नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको जनाएको छ ।

















