खाेज्नुहाेस

गोदावरीमा भैँसी पालक किसान समुहलाई घाँस काट्ने विद्युतिय मेसिन वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले भैंसी पालक किसान समुहलाई विद्युतिय घाँस काट्ने मेसिन र दुध राख्ने भाडो वितरण गरिएको छ । नगरपालिकाको पशु शाखाले वडा नम्बर – ५ मा रहेको प्रगती गाई तथा भैँसी पालन समुहलाई उक्त सामग्री वितरण गरेको हो ।

मंगलबार एक कार्यक्रममा बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिंह साउँदले अनुदानमा वितरण गरिएको सहयोग सामग्री समुहलाई हस्तान्तरण गरेका थिए ।

attariya hospital

किसान समुहलाई सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले आर्थिक समृद्धिको लागि व्यवसायीक कृषि कार्यमा लाग्न किसानहरुलाई आग्रह गरे ।

‘१, २ वटा मात्रै गाईभैंसी नपालेर व्यवसायीक रुपमा अलि बढी गाईभैँसी पाल्न आवश्यक छ’ उनले भने ‘व्यवसायीक रुपमा ८÷१० वटा गाई भैसी पाल्न सकियो भने कसैले पनि विदेश जानु पर्दैन ।’ उनले गोदावरी – ५ लाई दुग्ध उत्पादनमा नमुना वडा बनाउन किसानहरुलाई आग्रह गरे । नगरपालिकाले कृषिमा लगानी गरिरहेकाले बताउँदै नगरप्रमुख साउँदले किसानहरुले त्यसको सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण सिह बोहराले वडा कार्यालयले किसानहरुको व्यवसायीक विकासका लागि बिभिन्न कार्यक्रम संचालन गरेको बताए । उनले अनुदानमा पाएको सामग्रीको दुरुपयोग हुने गरेकाले त्यसो नगर्न आग्रह गरे ।

‘हामी वडा, नगरपालिका, नेपाल सरकारको लगानिमा बिभिन्न सिप सिक्छौ । तर, त्यसको सदुपयोग हुँदैन’ उनले भने ‘कुनै पनि सिप सिकेर त्यो काम गर्ने गरिएको छैन । हामी चाहन्छौ कुनै पनि सिप सिकेर होस वा अनुदान पाएर होस त्यो सदुपयोग हुनु पर्छ ।’

navjiwan hospital

उनले वडामा ३ वटा किसान समुह मार्फत किसानहरुले भैँसी पालन गरिरहेको  बताए । उनले किसानहरुको दुध विक्रिका लागि कुनै पनि समस्या नभएको बताए ।

नगरपालिकाले उक्त सामग्री चालु आर्थिक बर्षको करिब ४ लाख ९० हजारको लागतमा २६ वटा दुध राख्ने भाडो (क्यान) र १४ वटा विद्युतीय घाँस काट्ने मेसिन वितरण गरेको जनाएको छ ।

पशु शाखाका प्रमुख राम बहादुर सार्कीले वडालाई गाईभैँसी पकेट क्षेत्रका रुपमा विकास गर्न किसान समुहलाई सामाग्री सहयोग गरिएको बताए ।

प्रगती गाई तथा भैँसी पालन समुहकी अध्यक्ष मन्जु धामीले गाई तथा भैँसी पालनका लागि आवश्यक सामग्री वितरण गरेकोमा धन्यवाद ज्ञापन गरिन । उनले आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा आफूहरुले गरेको बताईन् ।

उनले भनीन ‘समूहको अझै विकास गर्नका लागि उन्नत जाँतको राँगो, बिभिन्न तालिमहरु पाएको भए सहज हुन्थ्यो ।’ उनले उत्पादित दुधको लागि बजारको समस्या नभएको बताईन् । हाल उक्त समूहले करिब ६० वटा भन्दा बढी गाइभैँसी पालन गरेको जनाएको छ ।